हात्तीले आक्रमण गर्दा २ जनाको ज्यान गएको छ । बुधबार बिहान हात्तीको आक्रमणमा परी महाकाली नगरपालिका–२ चाँदनीकी एक महिला सहित २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
हात्तीको आक्रमणबाट मृत्यु भएकी महाकाली नगरपालिका-२ चाँदनीकी ४२ वर्षीया बिस्ना भट्ट र ५० वर्षीया भुरी देवी बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ । आक्रमणपछि मुख र टाउकोमा चोट लागेकी बिस्नाको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।
घाइतेहरुको दोधारा स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारका लागि भारत पठाइएको जनाइएको छ । घाइते हुनेमा चाँदनीकी २२ वर्षीया सरस्वती ओझा, २० वर्षीया कुमादेवी साउद, ३२ वर्षीया गोमती भट्ट र नाम नखुलेका १ जना रहेका छन् ।
मायापुर जंगलबाट निस्किएको हात्तीको बथानले घाँस दाउराका लागि जंगल गएकाहरुमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ । घटनापछि अहिले शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय परिचालन मिलेर जंगलबाट हात्ती धपाउने कार्य भइरहेको इलाका प्रहरी कार्यालय दोधाराका इन्चार्ज प्रहरी निरीक्षक चेतराम पनेरुले बताउनुभएको छ ।