बडादसैँको मुख्य दिन : ११:५३ बजे टीकाको उत्तम साइत

काठमाडौँ – आज आश्विन शुक्ल दशमी, बडादसैँको मुख्य दिन विजयादशमीका अवसरमा मान्यजनको हातबाट टीका र जमरा लगाइँदैछ। दुर्गा भवानीको प्रसादस्वरूप रातो टीका शुभताको प्रतीक र जमरा समृद्धिको प्रतीक मानिन्छ।

 

नवदुर्गाको पूजाआराधना गरी घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिअनुसार अभिषेक गरी टीका लगाउने परम्परा छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज टीका लगाउन उत्तम साइत बिहान ११:५३ बजे रहेको छ भने देवी विसर्जनको साइत बिहान ९:२३ बजे तोकिएको छ। समितिले टीका लगाइदिने व्यक्ति पश्चिम र ग्रहण गर्ने व्यक्ति पूर्व फर्कनु उपयुक्त हुने पनि बताएको छ।

 

दशैँमा मान्यजनबाट टीका–जमरा थापी आशीर्वाद लिने प्रथा प्राचीन कालदेखि चलिआएको हो। धार्मिक विश्वासअनुसार त्रेतायुगमा भगवान् रामले आजकै दिन रावणमाथि विजय प्राप्त गरेका थिए, जसलाई असत्यमाथि सत्यको विजयका रूपमा लिइन्छ। त्यसैले यो दिनलाई विजयादशमी भनिन्छ।

 

टीका लगाउँदा पुरुषलाई आयु, बल, ज्ञान र कीर्तिको आशीर्वाद दिने संस्कृत मन्त्र उच्चारण गर्ने परम्परा छ भने महिलालाई दुर्गा देवीको स्वरूप मान्दै जयन्ती, मङ्गला, कालीलगायतका नाम उच्चारण गरी आशीर्वाद दिने गरिन्छ।

 

यस दिन नभ्याउनेले भने कोजाग्रत पूर्णिमासम्म टीका ग्रहण गर्न सक्ने परम्परा छ। कतिपय स्थानमा कुल र परम्परा अनुसार आजमात्रै टीका लगाइन्छ भने अधिकांश ठाउँमा पूर्णिमासम्म टीका–जमरा थाप्ने चलन छ।

 

जमराको वैज्ञानिक महत्त्व पनि रहेको बताइन्छ। चिकित्सकका अनुसार जमराको रस सेवन गर्नाले रोग प्रतिरोधात्मक क्षमता बढाउने र विभिन्न रोगव्याधामा लाभदायक हुने प्रमाणित भइसकेको छ।

 

आज गुरु–पुरोहित, हजुरबा–हजुरआमा, आमा–बुबा तथा मान्यजनको हातबाट टीका–जमरा थापी यश, ऐश्वर्य, दीर्घायु र सफलता प्राप्त होस् भन्ने कामनासहित आशीर्वाद लिने चलन रहिआएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय