समायोजनले कांग्रेस महाधिवेशन प्रभावित

कांग्रेस सभापति शेरबहादुर देउवासहित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको चार वर्षको कार्यकाल फागुन मसान्तबाट सकिँदै छ। कार्यकाल सकिन लागे पनि कांग्रेसले १४ औं महाधिवेशनको तालिका अहिलेसम्म तय गर्न सकेको छैन।महाधिवेशन गर्न नसकेको ‘विशेष कारण’ देखाएर एक वर्षको कार्यकाल बढाउन सकिने व्यवस्था विधानमा छ। त्यस अतिरिक्त थप ६ महिना बढाउन सकिने सुविधा संविधानले दिएको छ।

विधानअनुसार एक वर्ष कार्यकाल बढाएर ०७७ फागुनसम्ममा महाधिवेशन गर्ने योजना सभापति देउवाको छ। यो योजना उनले केही समयअघि पार्टी केन्द्रीय कार्यसमिति बैठकमा सुनाइसकेका छन्। चाँडै महाधिवेशन तयारी थाल्न निरन्तर दबाब दिँदै आएका वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय नेताहरू भने नेतृत्वको ढिलासुस्तीबाट सशंकित छन्।

उनीहरूले विधानको एक वर्ष र संविधानले दिएको अतिरिक्त ६ महिनाको समयसमेत नेतृत्वले लिन खोजेको ठानेका छन्। नेतृत्वमा दोहोरिनका लागि देउवाले राष्ट्रिय/अन्तर्राष्ट्रिय परिस्थिति र पार्टी संरचनाहरू आफूअनुकूल बनाएपछि मात्र महाधिवेशन गराउन खोजेको बुझाइ पौडेल पक्षको छ।

कांग्रेस नेता रामशरण महतले पार्टीको गाउँ/नगरपालिका र वडा तहको संरचना समायोजनमा भइरहेको विलम्बले महाधिवेशन ढिला हुने आशंका बढाएको बताए। कांग्रेसले नयाँ राज्य संरचनाअनुसार पार्टी कमिटीलाई समायोजन गर्न थालेको चार महिना बितिसकेको छ, तर अझै सकिएको छैन। साउन १७ गतेको केन्द्रीय कार्यसमिति बैठकले राष्ट्रिय सभाका सांसद एवं कानुन व्यवसायी राधेश्याम अधिकारीको नेतृत्वमा रहेको निर्वाचन समितिलाई मंसिर मसान्तसम्ममा समायोजन गरिसक्न जिम्मा दिएको थियो।

समितिले १ सय ६५ संघीय र ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रीय कार्यसमितिको समायोजन करिब टुंग्याएको छ। तर ७ सय ४३ पालिका र ६ हजार ७ सय ४३ वडा तहको संरचनाको समायोजन अझै टुंगिन सकेको छैन। समितिका सदस्य गोपालकृष्ण घिमिरेका अनुसार मंसिर मसान्तसम्ममा पालिकाहरूको समायोजन सकिनेछ। ‘केही समय उपनिर्वाचनका कारणले ढिलाइ भयो, अब फेरि काम अघि बढ्न थालेको छ,’ उनले भने, ‘सकभर मंसिरभित्रै वडा तहसम्मको समायोजन सक्ने लक्ष्य हाम्रो छ।’

साउनको केन्द्रीय बैठकले १३ औं महाधिवेशनअघि केन्द्रीय सदस्य नरहरि आचार्यको संयोजकत्वमा गठित क्रियाशील सदस्यता छानबिन समितिले निर्णय गरेबमोजिम क्रियाशील सदस्यको अभिलेख अद्यावधिक गर्ने कार्यसमेत मंसिर मसान्तभित्र सक्ने निर्णयगरेको थियो। तर क्रियाशील सदस्यता अद्यावधिक गर्ने काम सुरु भएकै छैन। कांग्रेसमा क्रियाशील सदस्यता अद्यावधिक र नयाँ वितरणको कार्य सकिएपछि मात्रै केन्द्रीय महाधिवेशन प्रक्रिया अघि बढ्छ। क्रियाशील सदस्यताले क्षेत्रीय प्रतिनिधि चुन्ने र क्षेत्रीय प्रतिनिधिबाट महाधिवेशन प्रतिनिधि चुनिने व्यवस्था विधानमा छ। कान्तिपुरमा खबर छ।

प्रतिक्रिया