गढीमाई मेलाबाट फर्कँदै गरेको पिकअप दुर्घटना, २ को मृत्यु, १६ घाइते

बाराको गढीमाई मेलाबाट फर्किदै गरेको पिकअप बुधबार बिहान महोत्तरीमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको माईस्थानदेखि करिब १ किलोमिटर पश्चिमतर्फ ज २ प ८८५५ नम्बरको पिकअप दुर्घटना भएको हो। दुर्घटनामा १६ जना घाइते भएको प्रहरीले जनाएको छ। बुधबार बिहान करिब २ बजे पिकअप अनियन्त्रित भई सडकबाट तल खसेको थियो।

मत्यु हुनेमा धनुषाधाम नगरपालिका–२ बस्ने अन्दाजी वर्ष ८० की सकुन्तला देवी साह र भारत सिताही बस्ने अन्दाजी वर्ष ६५ की वर्तनीयादेवी महतो छन्। दुवै जनाको बर्दिवासस्थित शुभ स्वस्तिक अस्पातालमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरुलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको छ। यस्तै समान्य घाइतेहरूको बर्दिवासस्थित स्वस्तिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटना भएका पिकअप र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ।

प्रतिक्रिया