शेयर बजारमा हरियाली, मध्य भोटेकोशीमा सकारात्मक सर्किट

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य सुधारसहित बन्द भएको छ। लगातार चार दिन ओरालो लागेको बजार यस दिन ८.९७ अंकले बढेर २६७१.०७ विन्दुमा पुगेको हो। सेन्सेटिभ सूचक १.५१ अंकले उकालो लाग्दा फ्लोट सूचक ०.८५ अंक र सेन्सेटिभ फ्लोट सूचक ०.५६ अंकले बढेका छन्।

कारोबार रकममा पनि उल्लेख्य वृद्धि देखिएको छ। अघिल्लो दिन ८ अर्ब ६९ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ३३७ कम्पनीका १ लाख ६ हजार १८ पटकका कारोबारमार्फत ११ अर्ब १० करोड २५ लाख रुपैयाँ बराबरको २ करोड ७७ लाख ८० हजार कित्ता शेयर किनबेच भएको छ।

यस दिन मध्य भोटेकोशी जलविद्युत कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लाग्दै २८ रुपैयाँ ५० पैसाले बढेर ३१३ रुपैयाँ ७० पैसामा पुगेको छ। रसुवागढी हाइड्रोपावर करिब १० प्रतिशत र खानी खोला हाइड्रोपावर ७ प्रतिशतले बढेका छन्। विपरीत दिशामा कालिञ्चोक दर्शनको शेयर मूल्य सर्वाधिक ७.५९ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा ङादी ग्रुप पावर अग्रस्थानमा रहेको छ, जसको ७० करोड ५३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। एसवाई प्यानल नेपाल र रिडी पावर पनि उच्च कारोबार गर्ने कम्पनीमा परेका छन्।

१३ उपसमूहमध्ये ८ उपसमूह उकालो लागेका छन् भने ५ उपसमूह घटेका छन्। विकास बैंक उपसमूह १.१८ प्रतिशतले सर्वाधिक बढ्दा जलविद्युत समूह पनि झन्डै १ प्रतिशतले बढेको छ। होटल तथा पर्यटन उपसमूह भने १.६५ प्रतिशतले घटेर सबैभन्दा धेरै ओरालो लागेको छ। लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार समूहमा सामान्य गिरावट देखिएको छ।

प्रतिक्रिया