नेप्सेमा सामान्य सुधार हुँदा कारोबार रकम २० अर्बमाथि

काठमाडौं– बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो अंकले बढेर २७६६.३८ विन्दुमा पुगेको छ, ०.२४ प्रतिशतले वृद्धि भएको हो। नेप्सेले २८ सयको विन्दु दिनमा दुई पटक पार गर्दा कारोबार रकम २० अर्ब ७ करोड ४ लाख ३४ हजार रुपैयाँ पुग्यो। यसमा ५ करोड ९ लाख ४६ हजार ८३२ कित्ता शेयर किनबेच भए।

बजार प्रि ओपन सेसनमा १३ अंकले बढेर सुरु भएको थियो र खुल्न साथ उकालो लाग्यो। ११ः१९ मा नेप्से २८ सयको विन्दु पार गर्‍यो तर ११ः२९ मा तल झर्यो। दोस्रो पटक ११ः४४ मा पुन: २८ सय पार गर्‍यो तर १२ः६ मा फेरि तल झर्दा पुन: २८ सय पुग्न सकेन। बजार निरन्तर घटेर १२ः२८ मा २७४७ विन्दुमा आइपुग्यो, तर त्यसपछि तल झरेन र अन्त्यमा झिनो अंकले बढ्यो।

बजारमा झिनो सुधार भए पनि समूहमा अधिकतम समूहहरू राताम्य देखिए। १३ समूहहरूमध्ये ६ हरियो देखिए भने ७ राताम्य भए। उत्पादन समूह ५.८७ प्रतिशतले बढेर ८१८५.९५ विन्दुमा पुगेको सबैभन्दा बढी वृद्धि भएको समूह हो, जबकि होटल एण्ड टुरिजम समूह १.२७ प्रतिशतले घटेर ७४२७.६९ विन्दुमा पुग्यो।

बजार बन्द हुँदा ७९ कम्पनीको शेयर मूल्य बढ्यो भने १६० कम्पनीको घट्यो। ३ कम्पनीको शेयर मूल्य स्थिर रह्यो। कुल ३२२ कम्पनीको २ लाख ९ हजार ९६५ पटक शेयर किनबेच भयो। ९ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो भने थप २ कम्पनीको शेयर मूल्य ८ प्रतिशतभन्दा बढीले बढ्यो।

प्रतिक्रिया