काठमाडाैं - नेपाल विद्युत् प्राधिकरणले २० दिनभित्र महसुल तिर्न नसक्ने २१ हजार परिवारको बिजुली काटेको छ। ११ भदौदेखि ३१ भदौसम्म, ४० करोड रुपैयाँ नबुझाएका ग्राहकहरूको लाइन काटिएको हो। यीमध्ये, ३० रुपैयाँ मासिक शुल्क तिर्न नसक्ने ग्राहकहरू पनि छन्। लाइन काटिएपछि १५ हजार २ सय २३ परिवारले बक्यौता तिरेर बिजुली पुनः जोडाएका छन्, तर अझै पनि ५ हजार ७८० ग्राहकको लाइन काटिएको छ।
यसैबीच, चरम लोडसेडिङको समयमा डेडिकेटेड फिडरमार्फत २४ घण्टा विद्युत् लिएका ५६ उद्योगले ८ अर्ब रुपैयाँको बक्यौता तिर्न अटेर गरेका छन्। विद्युत् प्राधिकरणले उद्योगहरूको लाइन काट्न प्रयास गरे पनि सरकारको दबाबले उद्योगलाई सुविधा दिइएको छ। यो मुद्दा हाल संसद्को लेखा समितिमा विचाराधीन छ।
प्राधिकरणले सर्वसाधारणको बिजुली काटेको भए पनि, अर्बौं बक्यौता तिर्न अटेर गर्ने उद्योगहरूलाई बिजुली कटौती गर्ने वा नगर्ने भन्ने प्रश्न विद्युत् नियमन आयोगलाई पठाएको छ। आयोगले भने यस विषयमा प्राधिकरणलाई कानुनअनुसार अघि बढ्न भनेको छ।
यसैबीच, प्राधिकरणले दसैं–तिहारको तयारी गर्दै विद्युत् महसुल असुली अभियानलाई अस्थायी रूपमा स्थगित गरेको छ। आजको नयाँ पत्रिका दैनिकबाट