नेप्सेमा अब २४ घण्टा अर्डर: सर्किट ब्रेकर पनि परिवर्तन

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा अब लगानीकर्ताले चौबिसै घण्टा सेयर खरिद–बिक्रीका लागि अर्डर दिन सक्ने भएका छन्। धितोपत्र बोर्ड ले नेप्सेको कारोबार विनियमावली संशोधन प्रस्ताव स्वीकृत गरेसँगै यस्तो व्यवस्था लागू हुने भएको हो।

नयाँ व्यवस्थाअनुसार अब नियमित कारोबार समय (बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म) बाहेक पनि जुनसुकै समयमा अनलाइनमार्फत अर्डर दिन सकिनेछ। यसअघि साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म अर्डर दिन सकिने प्रस्ताव गरिए पनि बोर्डले त्यसलाई अझ विस्तार गर्दै २४ घण्टे बनाएको हो।

विदेशमा रहेका नेपाली तथा नियमित समयमै कारोबार गर्न नसक्ने लगानीकर्तालाई लक्षित गर्दै यो व्यवस्था ल्याइएको हो। यसले दोस्रो बजारमा नयाँ लगानीकर्ता भित्र्याउन पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।

संशोधित विनियमावली अनुसार नियमित समय बाहिर अर्डर दिँदा सो दिनको अन्तिम मूल्यको आधारमा अधिकतम २ प्रतिशतसम्म मूल्य घटाएर वा बढाएर अर्डर राख्न सकिनेछ।

त्यसैगरी सर्किट ब्रेकर सम्बन्धी व्यवस्थामा पनि परिवर्तन गरिएको छ। यसअघि तीन तहको सर्किट ब्रेकर व्यवस्था रहेकोमा अब दुई तहमा सीमित गरिएको छ। नयाँ प्रावधान अनुसार पहिलो दुई घण्टाभित्र सूचक ५ प्रतिशतले घटे वा बढेमा १५ मिनेटका लागि कारोबार रोकिनेछ। त्यसपछि पुनः खुलेको बजार ८ प्रतिशतसम्म घटे वा बढेमा सो दिनका लागि कारोबार बन्द हुनेछ।

नेप्सेका अनुसार संशोधित नियम छिट्टै सञ्चालक समितिबाट निर्णय गरी कार्यान्वयनमा ल्याइनेछ। साथै, यो व्यवस्थाले गैरआवासीय नेपालीलाई पनि सेयर कारोबारमा सहभागी हुन सहज बनाउने विश्वास गरिएको छ।

प्रतिक्रिया