आमा,
यो चिट्ठी हातले होइन
मनले लेख्दैछु।
यहाँ कलमभन्दा भारी
एक्लोपन छ।
पथेको घर छ एउटा,
छानोमुनि हाँसो हुन्थ्यो,
भित्तामा पसिना टाँसिएको,
आँगनमा सपनाहरू खेल्थे।
आज म त्यो घरबाट
हजारौँ माइल टाढा
आफ्नै साससँग डराइरहेको छु।
घरमा परिवार छ,
यहाँ म मात्रै छु।
घरमा आवाजहरू छन्,
यहाँ सन्नाटा बोल्छ।
घरमा मेरो नाम लिइन्छ,
यहाँ नम्बरले चिनिन्छु।
परदेश
ठूलो हुन्छ आमा,
तर अँगालो हुँदैन।
यहाँ दिनहरू काम गर्छन्,
रातहरू रुन्छन्।
म हाँस्छु मानिसहरूका बीच,
तर एक्लै हुँदा
आफैँसँग हार्छु।
पथेको घर सम्झँदा
भोक लाग्दैन,
निन्द्रा भाग्छ।
बाबाको थाकेको अनुहार,
आमाको नबोलिएको चिन्ता,
र बच्चाहरूको
“कहिले आउँछ?”
यो प्रश्नले
मेरो छातीमा
दैनिक चोट गर्छ।
म बलियो भएको नाटक गरिरहेको छु,
तर सत्य के हो भने—
म धेरै थाकेको छु।
धेरै एक्लो छु।
र धेरै दुःखी छु।
यो चिट्ठी
म पठाउँदिन शायद,
किनकि
मेरो दुःखले
घर अझ दुःखी नहोस्।
तर थाहा पाउनु आमा,
पथेको घर
मेरो हरेक सासमा छ,
र म
हरेक रात
त्यही घर फर्केर
आँखाभरि रोएर
फेरि यही परदेश
ब्युँझिन्छु।
क्षितिस जैसी हाल प्रदेश