कविता - भत्केको मन,टुटेका सपना

 

आमा,

यो चिट्ठी हातले होइन

मनले लेख्दैछु।

यहाँ कलमभन्दा भारी

एक्लोपन छ।

 

पथेको घर छ एउटा,

छानोमुनि हाँसो हुन्थ्यो,

भित्तामा पसिना टाँसिएको,

आँगनमा सपनाहरू खेल्थे।

आज म त्यो घरबाट

हजारौँ माइल टाढा

आफ्नै साससँग डराइरहेको छु।

 

घरमा परिवार छ,

यहाँ म मात्रै छु।

घरमा आवाजहरू छन्,

यहाँ सन्नाटा बोल्छ।

घरमा मेरो नाम लिइन्छ,

यहाँ नम्बरले चिनिन्छु।

 

परदेश

ठूलो हुन्छ आमा,

तर अँगालो हुँदैन।

यहाँ दिनहरू काम गर्छन्,

रातहरू रुन्छन्।

म हाँस्छु मानिसहरूका बीच,

तर एक्लै हुँदा

आफैँसँग हार्छु।

 

पथेको घर सम्झँदा

भोक लाग्दैन,

निन्द्रा भाग्छ।

बाबाको थाकेको अनुहार,

आमाको नबोलिएको चिन्ता,

र बच्चाहरूको

“कहिले आउँछ?”

यो प्रश्नले

मेरो छातीमा

दैनिक चोट गर्छ।

 

म बलियो भएको नाटक गरिरहेको छु,

तर सत्य के हो भने—

म धेरै थाकेको छु।

धेरै एक्लो छु।

र धेरै दुःखी छु।

 

यो चिट्ठी

म पठाउँदिन शायद,

किनकि

मेरो दुःखले

घर अझ दुःखी नहोस्।

तर थाहा पाउनु आमा,

पथेको घर

मेरो हरेक सासमा छ,

र म

हरेक रात

त्यही घर फर्केर

आँखाभरि रोएर

फेरि यही परदेश

ब्युँझिन्छु।

 

क्षितिस जैसी हाल प्रदेश

प्रतिक्रिया