नयाँ बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप, ५० भन्दा बढी घाइते

काठमाडौं — विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै आन्दोलनरत शिक्षक र प्रहरीबीच नयाँ बानेश्वरमा झडप भएको छ। बिजुली बजारबाट र्‍याली निकाल्दै बानेश्वर पुगेका शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि स्थिति तनावपूर्ण बनेको हो। प्रहरीले भीडलाई तितरबितर पार्न पानीको फोहरा प्रहार गर्दा प्रदर्शनकारीहरूले ढुंगा प्रहार गरी प्रतिकार गरेका थिए।

नेपाल शिक्षक महासंघका अनुसार झडपमा परी ५० भन्दा बढी शिक्षक घाइते भएका छन् र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। आन्दोलन कभर गर्न गएकी पत्रकार सबिना कार्की पनि पानीको फोहोरा लागेर घाइते भएकी छन्, उनको आँखामा गम्भीर चोट लागेको बताइएको छ।

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघले आइतबार २६ औँ दिनसम्म आन्दोलन जारी राखेको हो। महासंघले आन्दोलनमा घुसपैठ भएको आरोप लगाउँदै संघर्षलाई अझ सशक्त बनाउने चेतावनी दिएको छ।

प्रतिक्रिया