हवाई इन्धन डिपो स्थानान्तरणमा क्यानको ढिलाइ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नेपाल आयल निगमको हवाई इन्धन डिपो स्थानान्तरणमा ढिलाइ भएको छ। विमानस्थलको सुरक्षालाई लिएर डिपोलाई गुह्येश्वरीस्थित गल्फ कोर्स नजिक सार्ने योजना भए पनि नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आवश्यक जग्गा औपचारिक रूपमा हस्तान्तरण नगरेपछि निर्माण कार्य अघि बढ्न सकेको छैन।

इन्धन डिपोका प्रमुख इन्जिनियर प्रदिप यादवका अनुसार, क्यानले मौखिक रूपमा मात्रै जग्गा उपलब्ध गराएको छ, तर चार किल्ला छुट्टाएर साइड क्लियरेन्ससहितको औपचारिक सम्झौता नहुनु मुख्य अवरोध बनेको हो। साथै, प्रस्तावित क्षेत्रमा नेपाली सेनाको भवन र जंगलसमेत रहेका कारण पनि निर्माण कार्य रोकिएको छ।

सरकारले दुर्घटनापछि बनेको कार्यदलको सुझावअनुसार डिपो सुरक्षित स्थानमा सार्ने निर्णय गरे पनि लगभग ११ महिना बित्दा पनि ठोस प्रगति हुन सकेको छैन। इन्जिनियरिङ अध्ययन संस्थानले असार २७ गते विस्तृत परियोजना प्रतिवेदन (DPR) बुझाउने तयारी गरिरहेको छ।

नयाँ डिपोमा हाइड्रेन्ट प्रणालीसहित १५ हजार किलोलिटर क्षमताका ट्याङ्की रहनेछन्। हालको डिपो विमानस्थलको सुरक्षालाई जोखिममा पार्ने र अन्तर्राष्ट्रिय मापदण्ड विपरीत स्थानमा रहेको भन्दै स्थानान्तरण अत्यावश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।

प्रतिक्रिया