जेनजी आन्दोलनमा देशभर ६२९ भवन पूर्ण क्षति

काठमाडौं । जेनजी पुस्ताका नाममा भदौ २४ गते भएको तोडफोड र आगजनीका कारण देशभरका विभिन्न क्षेत्रमा ६२९ वटा भवन पूर्णरूपमा क्षति पुगेका छन्। सोही आन्दोलनमा १ हजार ५६० भन्दा बढी भवन आंशिक रूपमा क्षतिग्रस्त भएका छन्।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट प्रहरीका मात्र १७७ भवन पूर्णरूपमा नष्ट भएका छन् भने २५८ भवनमा आंशिक क्षति पुगेको छ।

त्यस्तै, तीन सय १० सरकारी कार्यालय पूर्णरूपमा ध्वस्त भएका छन् भने प्रारम्भिक विवरणअनुसार कुल ८३६ सरकारी भवनमा आंशिक क्षति पुगेको छ।

व्यापारिक र निजी संरचनामा पनि ठूलो क्षति पुगेको छ। हालसम्म ९७ वटा व्यापारिक तथा निजी भवन पूर्ण रूपमा ध्वस्त भएका छन् भने २९२ भवनमा आंशिक क्षति पुगेको विवरणमा उल्लेख छ। यस्तै विभिन्न राजनीतिक दलका ४५ वटा पार्टी कार्यालय पूर्णरूपमा क्षति भएको र १७४ कार्यालय आंशिक क्षतिग्रस्त भएको जनाइएको छ।

प्रवक्ता घिमिरेका अनुसार क्षतिको पूर्ण मूल्याङ्कन भने अझै भएको छैन र विस्तृत विवरण सङ्कलन गर्ने कार्य जारी छ। RSS

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय