सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड (SWMF) ले आज (साउन ४ गते) देखि थप सार्वजनिक निष्काशन (एफपीओ) खुला गरेको छ। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ र नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने हुँदा लघुवित्तले एफपीओ जारी गर्न लागेको हो।
साविकको सूर्योदय लघुवित्त र वामी लघुवित्त गाभिएपछि बनेको सूर्योदय वोमी लघुवित्तको पूँजी संरचना संस्थापक समूहको ७०.३६ प्रतिशत र सर्वसाधारणको २९.६४ प्रतिशत रहेको छ। सोही संरचना कायम गर्न लघुवित्तले ४६ हजार ७२९.५४५० कित्ता शेयर निष्काशन गरेको छ, जसको कुल मूल्य ४६ लाख ७२ हजार ९५४ रुपैयाँ ५० पैसा रहेको छ। आवेदन दिने अवधि साउन ८ गतेसम्म र पर्याप्त आवेदन नपरेमा साउन १८ गतेसम्म लम्बिनेछ।
एफपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। क्रेडिट रेटिङ्ग कम्पनी केयर रेटिङ्ग नेपालले लघुवित्तलाई मध्यम जोखिम संकेत गर्ने केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ।
लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सि-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। एफपीओ निष्काशनपश्चात लघुवित्तको चुक्ता पूँजी ९१ करोड ५४ लाख ५५ हजार ४६३ रुपैयाँ पुग्नेछ।