नेप्से बढ्यो,लगानीकर्ता उत्साहित

नेप्से परिसूचक साताको दोस्रो कारोबार दिन सामान्य वृद्धि सहित २५५०.३६ विन्दुमा बन्द भएको छ। आइतबार सूचक सामान्य अंक घटेर बन्द भएको थियो भने सोमबार ९.७८ अंकको वृद्धि देखियो। यस दिन सेन्सेटिभ इन्डेक्स १.४३ अंक, फ्लोट इन्डेक्स ०.७१ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.४७ अंकले बढेका छन्।

कारोबार रकम पनि आइतबारको तुलनामा केही बढेको छ। आइतबार ३ अर्ब ८९ करोड रुपैयाँबराबरको सेयर किनबेच हुँदा सोमबार ३३५ स्टकको ६१ हजार ६३५ पटकको कारोबारमार्फत ३ अर्ब ९४ करोड ६० लाख रुपैयाँभन्दा बढीको ८८ लाख ९३ हजार कित्ता सेयर कारोबार भयो।

यस दिन ४ स्टक सकारात्मक सर्किट लेभलमा पुगे। बन्दीपुर केबलकार एण्ड टुरिजम, सागर डिष्टिलरी, बुङ्गल हाइड्रो र झापा इनर्जीका सेयर मूल्य सर्किट लेभलसम्म बढे। त्यस्तै, ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य करिब ९ प्रतिशतले र जोशी हाइड्रोपावरको मूल्य करिब ८ प्रतिशतले बढ्यो। विपरीत, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर ९.९९ प्रतिशतले घट्दै दिनकै सबैभन्दा धेरै ओरालो लागेको स्टक बन्यो।

कारोबार रकमका आधारमा साहस उर्जा सबैभन्दा अगाडि रह्यो। कम्पनीको १८ करोड रुपैयाँभन्दा बढीको कारोबार भयो। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार साढे १६ करोड रुपैयाँभन्दा बढी पुगेको छ भने शिवम् सिमेन्ट्सको कारोबार रकम पनि १६ करोड नाघेको छ।

१३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूह घटेका छन्। विकास बैंक उपसमूह १.५० प्रतिशतले बढ्दै सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्‍यो। होटल तथा पर्यटन उपसमूह पनि १ प्रतिशतभन्दा धेरैले बढेको छ। यसदिन निर्जीवन बीमा र अन्य उपसमूह भने सामान्य रूपमा घटेका छन्।

प्रतिक्रिया