सुनसरीमा बोलबम यात्राका क्रममा झडप, प्रहरीको गोली लागेर एक युवकको मृत्यु

 

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा साउने सोमबारको बोलबम यात्राका क्रममा दुई समूहबीच भएको झडप हिंसात्मक बनेपछि प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहता रहेका छन्। आइतबार राति बोलबम यात्रामा सहभागी एक समूहलाई अर्को समूहले आक्रमण गरेपछि विवाद चर्किएको र त्यसपछि झडपले उग्ररूप लिएको बताइएको छ। झडपका क्रममा स्थानीयका केही घर तथा पसलमा आगजनीसमेत भएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलमा परिचालन गरिएको थियो। अवस्था नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा मेहताको मृत्यु भएको हो। गोली लागेर तथा झडपका क्रममा करिब १० जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक प्रकाश पराजुलीका अनुसार झडप नियन्त्रणका क्रममा पाँच जना प्रहरीसमेत घाइते भएका छन्। घाइतेहरूको विराटनगरस्थित विराट टिचिङ, नोबेल र न्युरो अस्पतालमा उपचार भइरहेको छ। घटनापछि जिल्लाका विभिन्न स्थानबाट थप सुरक्षाकर्मी परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको छ। हाल घटनास्थलको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

यसैबीच, सुनसरी क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य लालविक्रम थापाले प्रहरीले गोली चलाउँदा नागरिकको ज्यान गएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न माग गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय