काठमाडौं – शुक्रबार र शनिबार देशभरका विभिन्न ठाउँमा बाढी र पहिरोका कारण जनजीवन प्रभावित हुँदा आइतबार शेयर बजारमा पनि पहिरो आएको छ। साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २२.३६ अंकले घटेर २४६४.४० विन्दुमा पुगेको छ। कारोबार रकम पनि घटेर ४ अर्ब ५ करोड ६ लाख ५८ हजार रुपैयाँमा सीमित भएको छ।
आज १ करोड ३ लाख ११ हजार ८८५ कित्ता शेयर ५८ हजार ४०१ पटक किनबेच भएको छ। ३२७ कम्पनीहरूको शेयर कारोबार हुँदा, ४६ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको घटेको छ। ५ कम्पनीको मूल्य स्थिर रहेको छ।
आइतबारको प्रि-ओपन सेसनमा बजार २ अंकले घटेर खुलेको थियो। १२:१४ सम्म बजार तल झर्दै गए पनि १:४५ तिर केहि समयको लागि सुधारिएको थियो। तर, यो सुधार लामो समय टिकेन।
आइतबार नेप्से परिसूचक उच्चतम २४९४ र न्यूनतम २४४४ विन्दुमा पुगेको थियो। उत्पादन तथा प्रशोधन समूहबाहेक सबै समूहको परिसूचक राताम्य भएको छ। उत्पादन तथा प्रशोधन समूह १.०७ प्रतिशतले बढेर ६७४७.५३ विन्दुमा पुगेको छ।
देशभर बाढी र पहिरोले जलविद्युत कम्पनीहरूमा क्षति पुर्याएका कारण जलविद्युत समूह २.४० प्रतिशतले घटेर २९५५.८० विन्दुमा आएको छ।
अन्य समूहहरूको अवस्था यस प्रकार छ:
वाणिज्य बैंक: ०.७४ प्रतिशतले घटेको
विकास बैंक: ०.९० प्रतिशतले घटेको
फाइनान्स: १.८३ प्रतिशतले घटेको
होटल तथा पर्यटन: १.८२ प्रतिशतले घटेको
लगानी समूह: १.४७ प्रतिशतले घटेको
जीवन बीमा: ०.३१ प्रतिशतले घटेको
लघुवित्त: ०.२९ प्रतिशतले घटेको
म्युचुअल फण्ड: १.२१ प्रतिशतले घटेको
निर्जीवन बीमा: ०.१७ प्रतिशतले घटेको
अन्य समूह: १.०२ प्रतिशतले घटेको
ट्रेडिङ समूह: २.९७ प्रतिशतले घटेको