एक महिनादेखिको आन्दोलनपछि शिक्षामन्त्री प्रधानको राजीनामा

काठमाडौं । भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन्। नीट प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर करिब एक महिनादेखि दिल्लीको जन्तर मन्तरमा ककरोच जनता पार्टी (सीजेपी) को नेतृत्वमा भइरहेको आन्दोलनबीच उनले राजीनामा दिएका हुन्।

प्रधानले सामाजिक सञ्जाल एक्समार्फत राजीनामाको जानकारी सार्वजनिक गर्दै देशको वर्तमान परिस्थितिलाई ध्यानमा राखेर प्रधानमन्त्रीलाई आफ्नो राजीनामा पठाएको बताएका छन्।

उनले लेखेका छन्, ‘जन्तर मन्तर र देशभर सिर्जना भएको अवस्थाबाट राष्ट्रविरोधी शक्तिले फाइदा नउठाऊन्, देशको एकता कायम रहोस्, कुनै पनि विद्यार्थीको भविष्य कानुनी जटिलतामा नफसोस् र विद्यार्थीहरूले आफ्नो समय अध्ययन तथा भविष्य निर्माणमा केन्द्रित गर्न सकून् भन्ने सोचका साथ मैले सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएको हुँ।’

नीट प्रश्नपत्र चुहावट प्रकरणपछि देशभर शिक्षामन्त्री प्रधानको राजीनामा माग गर्दै प्रदर्शन हुँदै आएका थिए। दिल्लीको जन्तर मन्तरमा जारी आन्दोलनका साथै विभिन्न राज्यमा विद्यार्थी, अभिभावक र नागरिकहरूले सरकारसँग जवाफदेहिता माग गर्दै आन्दोलन चर्काएका थिए।

यसअघि भारतीय राष्ट्रिय कांग्रेससहित विभिन्न विपक्षी दलले पनि धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै आएका थिए। प्रधानको राजीनामासँगै सरकारले अब नयाँ शिक्षामन्त्री नियुक्त गर्ने प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय