डिजिटल भुक्तानीमा नयाँ रेकर्ड ,महिना दिनमै १९ अर्बको कारोबार


काठमाडौं–सरकारले डिजिटल भुक्तानीलाई प्रोत्साहन गरिरहेका बेला आम नागरिक पनि यसतर्फ आकर्षित भएका छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा विद्युतीय भुक्तानीलाई प्राथमिकतामा राखेको छ । एक महिनाको अवधिमा मोबाइल वालेट र क्युआर कोडमार्फत १९ अर्बको कारोबार भएको छ । डिजिटल भुक्तानीमा नयाँ रेकर्ड कायम भएको छ । प्रयोगकर्ताले नगदको साटो मोबाइल बैंकिङ, क्युआर कोडबाट भुक्तानी बढाएका छन् । स्मार्ट मोबाइल बोक्ने उपभोक्ताले क्रमशः नगद बोकेर हिँड्न छाडेका छन् । 


गत वर्षको भदौ महिनामा मोबाइल वालेटमार्फत १ करोड १ लाख ७७ हजार ८ सय ८९ वटा कारोबारबाट ७ अर्ब ५७ करोड ९० लाख रुपियाँ कारोबार भएको थियो ।  यो वर्षको भदौ महिनामा मात्रै मोबाइल वालेटमार्फत एक करोड ३१ लाख ५५ हजार ५ सय १ पटक कारोबार भएको छ । यसबाट १४ अर्ब ५ करोड २० लाख रुपैयाँको कारोबार भएको छ । यो कारोबार रकम र कारोबार संख्या वालेटमार्फत एकै महिनामा भएको हालसम्मकै उच्च हो ।  कारोबार संख्यामा धेरै वृद्धि नभएपनि कारोबार रकमको आधारमा हेर्दा यो गत वर्षको साउनको भन्दा झन्डै दोब्बर हो । 


त्यसैगरी क्यूआर कोड स्क्यान गरी हुने कारोबारले पनि नयाँ रेकर्ड कायम गरेको छ । राष्ट्र बैंकका अनुसार साउन महिनामा मात्रै १२ लाख ९३ हजार ३ सय ४९ वटा कारोबार भएको छ । त्यसमार्फत चालु आवको साउन महिनामा ५ अर्ब ५ करोड ६० लाख रुपैयाँको भुक्तानी भएको हो । यो पनि एक महिनामा क्यूआर कोड स्क्यानमार्फत भएको हालसम्मकै सबैभन्दा धेरै रकमको कारोबार हो । अघिल्लो वर्षम साउनमा जम्म १ लाख ९५ हजार १६ वटा मात्र कारोबार भएको थियो । यसबाट ५८ करोड ९० लाख रुपियाँको मात्र कारोबार भएको थियो । क्युआर कोडको कारोबार संख्यामा साढे ६ गुणा र कारोबार रकममा साढे सात गुणाले वृद्धि देखिएको छ ।

नक्सालको तरकारी तथा फलफुल बजारमा गएर क्युआर कोडबाट भुक्तानी गरेको एक वर्षमै भुक्तानी १४ अर्ब पुग्नुलाई कोरोनाकालको प्रभावस्वरुप नगद भुक्तानीभन्दा विद्युतीय भुक्तानीमा वृद्धि भएको एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए । विद्युतीय भुक्तानी तथा अनलाइन कारोबारको संख्या बढ्दै जाँदा त्यसको सकारात्मक प्रभाव अनलाइन सपिङमा पनि देखिएको छ । तथ्याङ्क अनुसार चालु आवको पहिलो महिनामा ई–कमर्श कम्पनीमा ६७ हजार ८९१ वटा कारोबार भएका छन्, जसमा ३८ करोड ७० लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।


 आर्थिक वर्ष २०७७÷७८ को बजेटमार्फत दुई वर्षभित्र सबै सरकारी कारोबार नगदरहित बनाउने उल्लेख गरेका थिए । यसका लागि व्यक्तिबीचको कारोबार र सबै किसिमका व्यवसायको भुक्तानी विद्युतीय माध्यमबाट गर्न सकिने व्यवस्था मिलाइने बताएका थिए । नेपाल राष्ट्र बैंकले सहज रुपमा नीतिगत व्यवस्था गरिदिएको तथा नागरिकमा आएको जागरुपताका कारण पनि विद्युतीय कारोबारमा वृद्धि भएको हो । कोरोनाकाल भन्दा अगाडि र पछाडिको तुलना गर्दा उल्लेख्य रुपमा विद्युतीय कारोबारमा वृद्धि भएको देखिन्छ । क्यूआर कोड प्रयोग गर्ने क्रम बढ्दै जाँदा त्यसले समाजमा समेत सकारात्मक प्रभाव पारेको छ । खुद्रा पसल, तरकारी बजार तथा सामान्य व्यवसायमा स

मेत क्यूआरकोड प्रयोगमा वृद्धि हुँदै आएको छ । बैंक तथा वित्तीय संस्थाले फोन वा डिजिटल प्रणालीमार्फत कर्जासमेत उपलब्ध गराइसकेको अवस्था छ । 
नेपाल विद्युत् प्राधिकरणले महसुल भुक्तानीमा केही वर्षपहिलेदेखि नै विद्युतीय प्रणाली सुरुवात गरिसकेको छ । काठमाडौँका अधिकांश वितरण केन्द्रको महसुलमध्ये झण्डै ५० प्रतिशत हिस्सा विद्युतीय प्रणालीमार्फत हुने गरेको छ । खानेपानीको बिलदेखि हवाई टिकट खरिदसम्म विद्युतीय माध्यमबाटै हुने गरेको छ । सरकारको राजश्वदेखि अन्य दैनिक उपभोग्य सामग्रीको खरिदमा समेत विद्युतीय भुक्तानीको मात्रामा बढोत्तरी भएको छ । 


नगद नै नभएपनि जीवन सहज रुपमा चलाउन सकिने अवस्था सिर्जना भएको छ । घर, कार्यालय वा आफूलाई आवश्यक परेको स्थानमा मोबाइलबाटै खाना तथा खाजा समेत मगाउन सकिने सहज वातावरण सिर्जना भएको छ । कनेक्ट आइपीएसमार्फत नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, राहदानी तथा ट्राफिक प्रहरीको जरिवाना तिर्न सकिन्छ । यस्तै, सवारी साधन खरिद, सेयरबजार कारोबार, बिमाशुल्क तथा इन्टरनेटको बिल, मोबाइल टेलिफोनको बिल तथा बालेटमा समेत पैसा राख्न सकिन्छ ।


निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाले समेत यसलाई आत्मसात् गरेका छन् । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा पनि विद्युतीय भुक्तानी प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउने योजना समेटिएको छ । नगदरहित कारोबारको प्रवर्द्धनमा लागेको केन्द्रीय बैंकले त्यसका लागि उपकरणको अन्तरआवद्धता गर्दै राष्ट्रिय भुक्तानी स्वीच स्थापना गर्ने भनेको छ । मौद्रिक नीतिमा आर्थिक वर्ष २०७९÷८० लाई विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन वर्षको रूपमा मनाउने लक्ष्य राखेको छ । त्यसका लागि चालू अवमा आवश्यक पूर्वाधारको विकास र चेतना अभिवृद्धिमा जोड दिने लक्ष्य छ ।

प्रतिक्रिया