काठमाडौं — हिमालयन बैंकमा पाकिस्तानको हबिब बैंकले राखेको संस्थापक सेयर सस्तो मूल्यमा बिक्री गर्न खोज्दा ४१ करोड रुपैयाँभन्दा बढी पुँजीगत लाभकर (capital gains tax) छली हुने जोखिम देखिएको छ।
आर्थिक वर्ष ०८१/८२ को तेस्रो त्रैमासिक विवरणअनुसार बैंकको प्रतिकित्ता किताबी मूल्य (बुक भ्यालु) १७१.४४ रुपैयाँ छ। तर हबिब बैंकले आफ्नो २ करोड ८० लाख कित्ता सेयर प्रतिकित्ता ११२.८ रुपैयाँमा बिक्री गर्न लागेको छ।
अहिलेको कर प्रणाली अनुसार विदेशी कम्पनीले सेयर बिक्रीबाट भएको मुनाफामा २५% लाभकर तिर्नुपर्ने हुन्छ। यदि बुक भ्यालुका आधारमा सेयर बिक्री भएमा हबिबले सरकारलाई ५० करोड रुपैयाँ कर तिर्नुपर्ने थियो। तर अहिलेको बिक्री दरमा कर केवल ८ करोड ९६ लाख रुपैयाँ मात्र पर्ने देखिन्छ। यसरी करमा करिब ४१ करोड रुपैयाँको अन्तर आउँछ।
यसअघि यही सेयर हिमालयन रिइन्स्योरेन्सलाई प्रतिकित्ता १३० रुपैयाँमा बिक्री गर्ने सहमति भएको थियो। त्यो मूल्यमा बिक्री हुँदा हबिबले २१ करोड रुपैयाँ कर तिर्नुपर्ने हुन्थ्यो। तर हाल कायम मूल्यमा बिक्री गर्दा झण्डै १२ करोड रुपैयाँ कम कर तिर्नुपर्ने देखिन्छ।
नेपाल धितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक निरज गिरीका अनुसार नेटवर्थभन्दा कम मूल्यमा सेयर किनबेच गर्दा कर छलीको जोखिम हुन्छ। बैंकको सेयर राष्ट्र बैंकको स्वीकृतिमा मात्र बिक्री गर्न पाइने भएकाले मूल्यांकनको जिम्मेवारी नियामक निकायको हो।
धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले संस्थापक सेयर बिक्रीमा बोर्डले मापदण्ड नतोकेको बताउँदै बजारलाई नै निर्णय गर्ने छुट दिइएको जानकारी दिएका छन्।
यद्यपि, सेयर बिक्री प्रक्रियामा पारदर्शिता र निष्पक्षता आवश्यक भए पनि हिमालयन रिइन्स्योरेन्सका सञ्चालक समूहले नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड र नेप्सेसँग मिलेमतो गर्दै २५ बुँदे तालिकाअनुसार सेयर हत्याउने प्रयास गरेको देखिन्छ। हालसम्म ती मध्ये आठ चरण पूरा भइसकेका छन्।
हिमालयन बैंकले ३० जेठमा हबिब बैंकको २ करोड ८० लाख कित्ता संस्थापक सेयर बिक्रीमा राख्दा पहिलो प्राथमिकता संस्थापक सेयरधनीलाई दिने राष्ट्र बैंकको नियमअनुसार आवेदन मागिएको थियो। सुरुमा कुनै आवेदन नपरेको भए पनि समाचार सार्वजनिक भएपछि अन्तिम दिन तीन संस्थापक पक्षले आवेदन दिएका छन् — प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स र एक जना व्यक्ति।
यसअघि कर्मचारी सञ्चय कोषले पनि सेयर किन्ने इच्छा देखाएको थियो, तर अर्थ मन्त्रालयका अधिकारीका अनुसार कोष अध्यक्षसमेत रहेका राजस्व सचिव दिनेश घिमिरेको दबाबमा निर्णय हुन सकेन।
यस्तै, सन् २०१९ (०७६ साल जेठ) मा लन्डनस्थित कमनवेल्थ डेभलपमेन्ट कर्पोरेशन (CDC) ले पनि सेयर खरिदको इच्छा देखाएको थियो, तर बैंकभित्रको विवादका कारण त्यो प्रयास सफल हुन सकेन।
हबिब बैंकले कम लाभ हुने गरी सेयर किन बेच्न खोजिरहेकोमा पनि प्रश्न उठेको छ। हालको बिक्री दरमा हबिबले ३५ करोड ८५ लाख रुपैयाँ मात्र लाभ कमाउने देखिन्छ, जबकि पहिले तय गरिएको १३० रुपैयाँ दरमा बिक्री हुँदा ८४ करोड रुपैयाँभन्दा बढी लाभ हुने थियो।
नेपाल स्टक एक्सचेन्जका अधिकारीहरूका अनुसार, यस्तो बिक्री कर छली गरी बाँकी रकम हुन्डीमार्फत विदेश लैजाने नियतसहित गरिएको हुनसक्ने आशंका गरिएको छ।
यसबाहेक, हिमालयन बैंकले सर्वसाधारणका लागि एफपिओ प्रतिकित्ता १५७ रुपैयाँमा खुला गरेको छ। तर संस्थापक सेयर ११२.८ रुपैयाँमा बिक्रीमा राखिनुले पनि असमानता र कर छलीको सम्भावना देखिएको छ। Nayapatrika daily