देशभर आंशिक बदली, केही स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ — हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै, बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव देखिएको छ।

यसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ भने कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका साथै अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना पनि रहेको छ। साथै, मधेस र कोशी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ।

आज राति पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेस लगायत अन्य प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षासहित हिमपात हुन सक्ने महाशाखाको अनुमान छ।

यसरी सम्भावित वर्षा, हिमपात र हावाहुरीले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

प्रतिक्रिया