बालबालिका हिंसाको आरोपमा एमाले सांसद रेखाकुमारी शर्मा पक्राउ

काठमाडौँ । नेकपा एमालेबाट लुम्बिनी प्रदेश सभा सदस्य रहेकी रेखाकुमारी शर्मा बालबालिकासम्बन्धी कसुरको आरोपमा पक्राउ परेकी छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई सोमबार राति धुम्बाराहीस्थित निवासबाट नियन्त्रणमा लिएको हो।

शर्मामाथि दाङकी एक नाबालिकालाई घरेलु कामदारका रूपमा राखी शारीरिक तथा मानसिक यातना दिएको आरोप लागेको छ। यसअघि २०८१ जेठ १४ गते काठमाडौँ महानगरपालिकाले बालुवाटारस्थित उनको घरबाट ती बालिकाको उद्धार गरेको थियो। उद्धारपछि बालिकामाथि कुटपिट गर्ने, बाहिर जान नदिने, उचित बसोबासको व्यवस्था नगर्ने तथा मानसिक पीडा दिने जस्ता आरोपहरू सार्वजनिक भएका थिए।

घटनापछि २०८१ जेठ ३० गते जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दर्ता गरिएको थियो। बालबालिकासम्बन्धी ऐन २०७५ अनुसार बालबालिकामाथि शारीरिक वा मानसिक हिंसा गर्नेलाई जरिवाना र कैद सजायको व्यवस्था रहेको छ।

यस प्रकरणमा प्रारम्भिक चरणमा पक्राउ नगरिएको विषयमा त्यसबेला काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले असन्तुष्टि जनाएका थिए। पछि २०८१ माघमा मुद्दा नचल्ने निर्णय भए पनि विषय सर्वोच्च अदालतसम्म पुगेको थियो।

सर्वोच्च अदालतको पूर्ण इजलासले बालिकालाई अभिभावकसँग पुनर्मिलन गराउने र उनको इच्छाअनुसार काठमाडौँमै बसोबास तथा शिक्षाको व्यवस्था गर्न आदेश दिएको थियो।

हाल पुरानो मुद्दा पुनः सक्रिय भएपछि सांसद शर्मा पक्राउ परेकी हुन्। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया