गुरू आमाको सफलता - साइड डान्सरदेखि चलचित्रको गीत निर्देशनसम्म

लोकप्रिय म्युजिक भिडियो निर्देशक स्मृति तिमिल्सिना (गुरुआमा) अब फिल्ममा पनि डेब्यु गरेकी छन्। चलचित्र कोशेढुंगा मा समावेश तीज गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ मा स्मृतिको कोरियोग्राफी रहेको छ। एक साता अघिमात्र सार्वजनिक भएको उक्त गीत अहिले युट्युबमा १२ लाखभन्दा बढीपटक हेरिएको छ भने टिकटकमा यसको क्लिपहरू व्यापक रूपमा भाइरल बनेका छन्।

गीतमा नेत्र अर्यालको शब्द, खेम सेञ्चुरीको संगीत तथा हुकलाइन रहेको छ। गायनमा खेम सेञ्चुरीसँगै समीक्षा अधिकारी र दिपिका बयम्बु मगरले स्वर दिएका छन्। स्मृतिको निर्देशन तथा कोरियोग्राफीमा फिल्मका प्रमुख कलाकारहरू सुरक्षा पन्त, ऋचा शर्मा र नीति शाहले नृत्य प्रस्तुत गरेका छन्।

संगीत क्षेत्रको यात्रा कोरस डान्सरका रूपमा सुरु गरेकी स्मृतिले शंकर बिसीको निर्देशनमा काम गर्दै सह–निर्देशकका रूपमा अनुभव सँगालिन्। अहिले भने उनी तीज गीत र लोकदोहोरी भिडियो निर्देशन तथा कोरियोग्राफीमा अत्यन्तै व्यस्त छिन्। यो वर्ष मात्रै उनले तीन दर्जनभन्दा बढी तीज गीतमा निर्देशन र कोरियोग्राफी गरिसकेकी छन्।

चलचित्र डेब्युको यस गीतमार्फत पनि स्मृतिले दर्शक तथा समीक्षकको प्रशंसा बटुल्न सफल भएकी छिन्।

प्रतिक्रिया