काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सांसद खरिदबिक्री गरेर भूमि सम्बन्धी अध्यादेश पारित गर्न खोजिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।
शुक्रबार काठमाडौंमा वौद्धिक पेशाकर्मी महासंघले आयोजना गरेको अन्तर्क्रियामा बोल्दै अध्यक्ष यादवले भूमि सम्बन्धी अध्यादेश राष्ट्रहित विपरीत रहेको जिकिर गरे। उनले उक्त अध्यादेश फिर्ता लिन सरकारसँग माग गर्दै, यसको पारित प्रक्रियामा बिचौलियाहरूले अर्बौं रुपैयाँको चलखेल गर्न खोजेको सुनेको बताए। वन विनाश गरी देशलाई मरुभूमिकरण गर्ने खालको कानुन स्वीकार्य नहुने उल्लेख गर्दै उनले अध्यादेशले वास्तविक भूमिहीनको समस्या समाधान नगर्ने धारणा राखे।
उनले भूमि आयोगको नियत भूमिहीनको समस्या समाधान गर्न नभई भू-माफियामार्फत अनुचित लाभ उठाउने उद्देश्यले काम गरिरहेको आरोप लगाए। साथै, सरकारले गरिबी समस्या समाधान गर्नुको सट्टा बिचौलियासँग मिलेर राजनीतिक दल फुटाउने प्रयास गरिरहेको आरोप समेत अध्यक्ष यादवले लगाए।