काठमाडौं -: नेपाल पत्रकार महासंघले “क्योउदाई डटकम” का प्रधान सम्पादक दीपक गौतमलाई समाचार लेखेकै भरमा धम्की दिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
गौतमलाई केवियल इन्टरनेसनलका सञ्चालक कुमार कार्कीले सामाजिक सञ्जाल मार्फत धम्की दिएका थिए ।
अवैध मानव तस्करीसँग सम्बन्धित समाचार मिडियामा प्रकाशित भएपछि उनलाई सो कम्पनीका सञ्चालकले धम्की दिएका थिए। महासंघले पत्रकारिताको स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि असर पार्न सक्ने भन्दै चासो व्यक्त गरेको छ।
महासंघले समाचार प्रकाशनको आधारमा पत्रकारलाई धम्की दिने कार्य अत्यन्तै निन्दनीय भएको जनाएको छ। पत्रकारिताको पेशागत कर्तव्य निर्वाह गर्दा कुनै पनि प्रकारको दबाब सिर्जना गर्नु अनुचित भएको भन्दै महासंघले दोष उपर कडा कारबाही गर्न अनुरोध समेत गरेको छ।
नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रताको संरक्षण गर्दै पत्रकारहरूलाई स्वतन्त्र रूपमा काम गर्ने वातावरण सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको छ। साथै, समाचार सम्प्रेषणको क्रममा पत्रकारहरूले पेशागत सुरक्षाको अनुभूति गर्न पाउनुपर्नेमा महासंघले विशेष जोड दिएको छ।
दीपक गौतमले विगत केही वर्षदेखि जापानमै रहेर मिडिया सञ्चालन गर्दै आएका छन्।