मुग्लिन–पोखरा सडक : पूर्वी खण्डमा ७३ किलोमिटर कालोपत्र सम्पन्न

तनहुँ । मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत पूर्वी खण्डमा हालसम्म ७३ दशमलव ११ किलोमिटर कालोपत्र सम्पन्न भएको छ। तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको खण्डमा चार लेन र दुई लेन गरी सो दूरीमा कालोपत्र सम्पन्न भएको हो।

पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार चार लेनतर्फ ३४.९८ किलोमिटर र दुई लेनतर्फ ३.१५ किलोमिटर दूरीमा कालोपत्र सम्पन्न भइसकेको छ। उनका अनुसार हालसम्म कालोपत्र गरिएको खण्डलाई दुई लेनका आधारमा गणना गर्दा ७३.११ किलोमिटर दूरी कालोपत्र भइसकेको छ।

गत १६ फागुनसम्म यस खण्डको भौतिक प्रगति ७८.९५ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ५९.२५ प्रतिशत रहेको छ। चार लेनतर्फ २०.१६ किलोमिटर र दुई लेनतर्फ १२.३२ किलोमिटर क्षेत्रमा अन्तिम कालोपत्र सकिएको छ।

यसैबीच, पूर्वी खण्डअन्तर्गत दमौली बजार क्षेत्रमा समेत कालोपत्र सुरु गरिएको छ। व्यास नगरपालिका–२ बागबजार क्षेत्रमा एकतर्फी कालोपत्र पूरा भइसकेको छ भने अर्कोतर्फका लागि सडक सम्याउने कार्य भइरहेको छ।

पूर्वी खण्डको निर्माण कार्य २०७८ वैशाख २ बाट सुरु भएको थियो। चाइना कम्युनिकेशन कन्स्ट्रक्सन कम्पनीले ६ अर्ब २१ करोड ३१ लाख रुपैयाँ लागतमा ठेक्का पाएको छ। एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो।

मादी पुलको निर्माण कार्य ६५ प्रतिशत पूरा

व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि निर्माणाधीन पुलको ६५.०७ प्रतिशत भौतिक प्रगति पूरा भएको छ। मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत निर्माण भइरहेको उक्त पुलको आर्थिक प्रगति ५२.४३ प्रतिशत रहेको छ।

इन्जिनियर पाण्डेका अनुसार ३१५ मिटर लामो उक्त पुलमा छ वटा स्पान रहनेछन्। पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको चार लेनको यो पुल तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित जेडआइस्ट अन्नक जेभीले एक अर्ब २१ करोड रुपैयाँ लागतमा ठेक्का लिएको छ।

हाल मादी नदीमाथि रहेको दुई लेनको पुल ३७० मिटर लम्बाइको छ भने नयाँ पुल सोही पुलभन्दा ५० मिटर दूरीमा निर्माण भइरहेको छ।

प्रतिक्रिया