बैंकिङ सेवा सहज बनाउँदै राष्ट्र बैंक, कागजी झन्झट सकियो

काठमाडौं । नेपाल राष्ट्र बैंक ले बैंकिङ सेवालाई ग्राहकमैत्री बनाउँदै कागजी प्रक्रिया घटाउने र विदेशी मुद्रा कारोबारको अनुगमन सुदृढ गर्ने नयाँ नीति ल्याएको छ।

केन्द्रीय बैंकले एकीकृत परिपत्र–२०८२ मा संशोधन गर्दै बैंक तथा वित्तीय संस्थाहरूलाई ग्राहकका विवरण व्यवस्थापन र भुक्तानी प्रणालीमा थप जिम्मेवार बनाएको हो। संशोधित निर्देशिकाअनुसार ग्राहकबाट एकपटक प्राप्त गरिएका कागजात पुनः पेस गर्न नपर्ने व्यवस्था गर्नुपर्नेछ।

नयाँ व्यवस्थाले ग्राहकहरूले एउटै कागजात पटक–पटक बुझाउनुपर्ने झन्झट हटाउनेछ। बैंकहरूले ग्राहकका कागजात सुरक्षित रूपमा अभिलेखीकरण गरी सोही आधारमा आगामी सेवा प्रदान गर्नुपर्नेछ।

विशेषगरी वैदेशिक व्यापार तथा विदेशी मुद्रा सटही सुविधा लिने ग्राहकलाई यसले राहत दिने अपेक्षा गरिएको छ। साथै, विदेशी मुद्रा भुक्तानी र सटही सेवामा हुने कारोबारको पूर्ण जिम्मेवारी सम्बन्धित बैंकमै रहनेछ।

नेपाल राष्ट्र बैंक ले बैंकहरूलाई आफ्नै प्रभावकारी अनुगमन प्रणाली विकास गर्नसमेत निर्देशन दिएको छ।

प्रतिक्रिया