धितोपत्र बोर्डको नयाँ योजना: डिजिटल नियमनदेखि नयाँ बेन्चमार्क सूचकांकसम्म

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पूँजी बजारलाई थप व्यावसायिक, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यसहित आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रणनीतिक योजना सार्वजनिक गरेको छ। बोर्डले बजार सुधारका लागि नौ वटा प्रमुख क्षेत्रलाई प्राथमिकतामा राखेर नीतिगत तथा संरचनात्मक सुधार अघि बढाउने जनाएको हो।

बोर्डका अनुसार डिजिटल प्रविधिको विस्तार, लगानीकर्ताको पहुँच वृद्धि र नियामकीय संरचना सुदृढ बनाउने लक्ष्यका साथ विभिन्न सुधारात्मक कार्यक्रम अघि सारिएको छ। यसले बजारमा हुने विकृति नियन्त्रण गर्नुका साथै आधुनिक प्रणाली विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

रणनीतिअनुसार धितोपत्र बजारमा हुने वित्तीय अपराध तथा कसुरको प्रारम्भिक अनुसन्धानलाई प्रभावकारी बनाउन सम्बन्धित सरकारी निकायसँगको समन्वय थप मजबुत बनाइनेछ। पछिल्लो समय सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाएर बजारलाई प्रभावित पार्ने गतिविधि बढ्दै गएकाले त्यसप्रति विशेष निगरानी गरिने बोर्डले जनाएको छ।

विशेषगरी वित्तीय सल्लाह दिने नाममा बजार प्रभावित पार्ने ‘फाइनान्सियल इन्फ्लुयन्सर’, अनधिकृत लगानी परामर्श, भ्रामक प्रचार तथा अनलाइन वित्तीय ठगी नियन्त्रणका लागि निगरानी प्रणालीलाई थप सुदृढ बनाइने रणनीति बोर्डले लिएको छ।

प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउन सरोकारवालाबाट प्राप्त सुझावका आधारमा नीतिगत सुधार गरिनेछ। अब कुनै कम्पनीलाई आईपीओ जारी गर्ने अनुमति दिनुअघि त्यसको वित्तीय अवस्था, व्यवस्थापकीय क्षमता तथा समग्र पृष्ठभूमिको विस्तृत मूल्यांकन गरिने बोर्डले जनाएको छ। साथै प्राथमिक बजारमा प्रवेश गर्नुअघि संस्थाहरूले गर्ने पूँजी संकलनलाई पनि नियमनको दायरामा ल्याइने तयारी छ।

बोर्डले सामूहिक लगानी कोष (म्युचुअल फन्ड) को लक–इन अवधि र इकाई बाँडफाँट सम्बन्धी व्यवस्थाको पनि समयानुकूल पुनरावलोकन गर्ने जनाएको छ।

यस्तै, मार्जिन कारोबारलाई थप प्रभावकारी बनाउन देखिएका प्राविधिक तथा नीतिगत समस्या समाधानका लागि नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्ज (नेप्से), सीडीएस एन्ड क्लियरिङ लिमिटेड तथा धितोपत्र व्यवसायीबीच समन्वय बढाइनेछ।

लगानीकर्ताको हितलाई ध्यानमा राख्दै प्राथमिक तथा दोस्रो बजारमा लाग्ने कारोबार शुल्क पुनरावलोकन गरी घटाउने विषयमा पनि गृहकार्य भइरहेको बोर्डले जनाएको छ। साथै कारोबारयोग्य सेयरको संख्याका आधारमा नयाँ बेन्चमार्क सूचकांक विकास गरिनेछ भने हालको नेप्से परिसूचकलाई ‘अल इक्विटी इन्डेक्स’ का रूपमा निरन्तरता दिइने रणनीति तय गरिएको छ।

धितोपत्र बोर्डले पूँजी बजार विकासको दीर्घकालीन मार्गचित्र तथा आगामी वर्षको विस्तृत नीति र कार्यक्रम निकट भविष्यमै सार्वजनिक गर्ने जनाएको छ।

प्रतिक्रिया