काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ आयोगसमक्ष आफ्नो भनाइ लिखित रूपमा पेश गरेका छन्। आयोगसम्बन्धित स्रोतका अनुसार आयोगले पठाएको पत्र पुगेपछि ओली बयान दिन सहमत भएका थिए र आयोगको टोलीले उनको लिखित स्टेटमेन्ट लिएर फर्किएको हो।
ओली निकट व्यक्तिको सिफारिसपछि आयोगको टोली उनको निवासमै पुगेको बताइएको छ। त्यहाँ ओलीले मौखिक बयान नदिई आफ्नो धारणा र जवाफहरू लिखित रूपमा पेस गरेका थिए।
यसअघिसम्म ओलीले जाँचबुझ आयोगप्रति प्रश्न उठाउँदै सिंहदरबारमा पुगेर बयान दिन अस्वीकार गरेका थिए। तर पछिल्लो समय उनले आफ्नो धारणा परिवर्तन गर्दै आयोगको टोली जहाँ आए पनि भेट्न तयार रहेको बताएका थिए।
आयोगका पदाधिकारीहरूले सोधिएका प्रश्न र दिइएका जवाफबारे सार्वजनिक रूपमा केही नबताउने नीति लिएका छन्। आयोगका अनुसार संकलित विवरणका आधारमा ६० भन्दा बढी प्रश्न तयार गरिएको थियो र ती प्रश्नकै आधारमा ओलीले लिखित जवाफ दिएको बुझिएको छ।