पर्सा–२ मा रिमा यादवको दाबी: देश बनाउने र जलाउनेबीचको चुनाव

शेखर छत्कुली/वीरगञ्ज, ६ फागुन। पर्सा निर्वाचन क्षेत्र नम्बर २ की प्रतिनिधिसभा उम्मेदवार रिमा कुमारी यादवले आगामी निर्वाचन देशको दिशा निर्धारण गर्ने अवसर भएको बताएकी छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को तर्फबाट उम्मेदवारी दिएकी यादवले फागुन २१ गते हुने मतदानलाई देश बनाउने र देश बिगार्ने शक्तिबीचको प्रतिस्पर्धा भएको उल्लेख गरिन्।

चुनावी सभालाई सम्बोधन गर्दै उनले पर्सा–२ मा देखिएको जनसमर्थनले आफू उत्साहित भएको बताइन्। जनताको साथ र विश्वासका आधारमा आफू विजयी हुने उनको दाबी थियो। उनले २०६४ सालदेखि यस क्षेत्रमा निर्वाचित हुँदै आएका दलहरूले अपेक्षित विकास गर्न नसकेको आरोप लगाउँदै आफू निर्वाचित भए विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाइन्।

यादवले आफू यस क्षेत्रकै सबैभन्दा कम उमेरकी उम्मेदवार भएको उल्लेख गर्दै युवाको नेतृत्वमा मात्र तीव्र विकास सम्भव हुने तर्क प्रस्तुत गरिन्। उनले शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारीका क्षेत्रमा विशेष पहल गर्ने योजना रहेको बताइन्।

कार्यक्रमका क्रममा जनता समाजवादी पार्टी, नेपाल र नेपाली कांग्रेसलगायत विभिन्न दल परित्याग गरी करिब दुई सय जना कार्यकर्ता एमालेमा प्रवेश गरेका जनाइएको छ। नवप्रवेशीहरूलाई पार्टीका नेताहरूले स्वागत गरेका थिए। कार्यक्रममा एमालेका केन्द्रीय तथा प्रदेश तहका नेताहरू, स्थानीय जनप्रतिनिधि र कार्यकर्ताको उपस्थिति रहेको थियो।

प्रतिक्रिया