अबको चुनामा एमालेलाई बहुमत दिन प्रधानमन्त्रीको अनुरोध

काठमाडौं — प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा सुशासन र विकासलाई अवरोधरहित रूपमा अघि बढाउन एमालेको बहुमत सरकार आवश्यक रहेको बताएका छन्। राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय शिक्षा विभागद्वारा च्यासलस्थित एमाले पार्टी कार्यालयमा शनिबार आयोजित युवा उद्यमी सम्मान तथा पार्टी प्रवेश कार्यक्रममा ओलीले साना स्वार्थले भ्रम फैलाइएकाले अब युवाहरूले यथार्थ बुझेर एमालेलाई साथ दिनुपर्ने धारणा राखे।

उनले भने, “देश बिगार्न नदिन, सुशासनलाई तीव्र गतिमा अघि बढाउन एमालेको बहुमत जरुरी छ। साना स्वार्थले भ्रम फैलाएका छन्, अब त्यो भ्रममा नपर्नुहोस्।” अध्यक्ष ओलीले युवाहरूलाई प्रत्यक्ष राजनीतिमा आउन आह्वान गर्दै नेता बन्ने प्रक्रिया समय र अनुभव आवश्यक पर्ने बताए। “मेसी र एम्बापे पनि एकैदिन बनेका होइनन्,” उनले भने, “रहरले डाक्टर वा इन्जिनियर बन्न सकिँदैन, मिहिनेत र समय चाहिन्छ।”

हाल प्रधानमन्त्री ओली कांग्रेससँग मिलेर सरकार सञ्चालन गरिरहेका छन्। पछिल्लो समय कांग्रेस र एमालेबीच सरकार सञ्चालनमा समन्वय अभाव देखिएको चर्चा चलिरहेका बेला ओलीको यस्तो अभिव्यक्ति आएको हो।

कार्यक्रममा युवा चिकित्सक, इन्जिनियरसहित करिब १०० जना एमालेमा प्रवेश गरेका थिए भने स्वदेशमै केही गरौँ भन्ने सोच भएका युवा व्यवसायीलाई सम्मान गरिएको थियो।

प्रतिक्रिया