काठमाडाैं - बलेफी हाइड्रोपावर लिमिटेडले मंसिर २७ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले हालको चुक्ता पूँजीको १०० प्रतिशत बराबरको हकप्रद शेयर जारी गर्न लागेको हो। यस अनुसार, शेयरधनीहरूले एक कित्ता शेयरको बराबरमा थप एक कित्ता हकप्रद शेयर पाउनेछन्।
कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद शेयर जारी गर्न लागेको छ। हकप्रदका लागि कात्तिक २१ गते बुकक्लोज गरिएको थियो। कात्तिक २० गतेसम्म नेप्सेमा कायम रहेका शेयरधनीले पुस १७ गतेसम्म आवेदन दिन सक्नेछन्।
इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले बलेफीलाई ‘आईआरएन डबल बी’ रेटिङ प्रदान गरेको छ, जसले मध्यम जोखिम रहेको संकेत गर्छ। हकप्रद शेयर निष्काशनबाट संकलित रकम कम्पनीले बैंक ऋणको आंशिक भुक्तानी, प्रबद्र्धक ऋणको पूर्ण भुक्तानी र ठेकेदारहरूलाई तिर्ने बताएको छ।
शेयर बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ। आवेदन प्रक्रिया ‘मेरो शेयर’ अनलाइन प्रणाली, आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र कुमारी बैंकका शाखामार्फत हुने छ। हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ६५ करोड ५९ लाख ४० हजार रुपैयाँ पुग्नेछ।