काठमाडौं — प्रदेश नं. १ (कोशी प्रदेश) र गण्डकी प्रदेशले आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक गरेका छन्। दुवै प्रदेशले पूर्वाधार, स्वास्थ्य, शिक्षा, कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकता दिँदै आ–आफ्नो आर्थिक रणनीति अघि सारेका छन्।
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट ल्याएको छ। उक्त बजेटमध्ये १८ अर्ब ६७ करोड ३३ लाख रुपैयाँ (५२%) चालु खर्चतर्फ, १७ अर्ब १० करोड ६५ लाख रुपैयाँ (४७.७%) पुँजीगत खर्चतर्फ र १० करोड रुपैयाँ (०.३%) वित्तीय व्यवस्थापनतर्फ विनियोजन गरिएको छ। चालु आवको तुलनामा यो बजेट १.७ प्रतिशतले र संशोधित अनुमानको तुलनामा १२ प्रतिशतले बढी हो।
प्रदेश सरकारको बजेट खर्च व्यहोर्न प्रदेश आन्तरिक राजस्वबाट ५ अर्ब ५० करोड, संघीय राजस्व बाँडफाँडबाट १२ अर्ब ३९ करोड ६० लाख, समानीकरण अनुदानबाट ८ अर्ब ९८ करोड ३४ लाख, सशर्त अनुदानबाट ४ अर्ब ५७ करोड १० लाख, समपूरक र विशेष अनुदान मिलाएर ९४ करोड ८९ लाख, तथा रोयल्टीबाट ३५ करोड ६ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ। बाँकी ३ अर्ब १३ करोड रुपैयाँ नगद मौज्दातबाट व्यवस्थापन गरिने जनाइएको छ।
कोशी प्रदेशको बजेटमा पूर्वाधार विकासमा १० अर्ब ५७ करोड, खानेपानी, सिँचाइ तथा ऊर्जामा ४ अर्ब ७३ करोड ३० लाख, कृषि र उद्योगमा २ अर्ब १८ करोड, पर्यटन, वन तथा वातावरणमा २ अर्ब ९७ करोड ६६ लाख, शिक्षा, विज्ञान तथा सामाजिक क्षेत्रमा २ अर्ब ५ करोड ५५ लाख र स्वास्थ्यमा ३ अर्ब ५१ करोड ७१ लाख विनियोजन गरिएको छ। शान्ति सुरक्षातर्फ ९६ करोड छुट्याइएको छ।
त्यस्तै, गण्डकी प्रदेश सरकारले आइतबार आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३१ अर्ब ९७ करोड ९९ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। बजेटमा चालु खर्चतर्फ १२ अर्ब ६३ करोड (३९.५%) र पुँजीगत खर्चतर्फ १९ अर्ब ९ करोड (५६.७%) विनियोजन गरिएको छ भने वित्तीय व्यवस्थापनतर्फ २५ करोड राखिएको छ।
गण्डकी प्रदेशको आय स्रोततर्फ संघीय समानीकरण अनुदानबाट ७ अर्ब ९३ करोड, राजस्व बाँडफाँटबाट ९ अर्ब ७९ करोड, रोयल्टीबाट ४९ करोड, सशर्त अनुदानबाट ३ अर्ब ३५ करोड, समपूरक र विशेष अनुदान गरी क्रमशः ६३ र ४९ करोड, तथा आन्तरिक आम्दानीबाट ५ अर्ब ४५ करोड रुपैयाँ उठाउने योजना बनाइएको छ।
दुवै प्रदेशले पूर्वाधार निर्माणसँगै सेवा प्रवाह सुदृढ गर्न कृषि, पर्यटन, स्वास्थ्य र शिक्षा क्षेत्रलाई विशेष प्राथमिकता दिँदै आगामी वर्षको विकास एजेन्डा तय गरेका छन्।