नेप्से १८.१४ अंकले घट्यो, ७ अर्ब ३० करोडको कारोबार

काठमाडौं - सन् २०२५ को प्रारम्भदेखि लगातार बढ्दै आएको शेयर बजार बिहीबार घटेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) बिहीबार १८.१४ अंकले घटेर २,६३५.०९ विन्दुमा रोकिएको छ, जसले ०.६८ प्रतिशतको गिरावट दर्शाउँछ। शेयर बजारमा गिरावट आए पनि कारोबार रकममा भने वृद्धि भएको देखिएको छ। बिहीबार कुल ७ अर्ब ३० करोड ५३ लाख ४२ हजार रुपैयाँ बराबरको १ करोड ५७ लाख २३ हजार ३७९ कित्ता शेयर किनबेच भएको छ।

बजारमा ३०८ कम्पनीहरूको कारोबार हुँदा ७३ हजार ३०९ पटक शेयर किनबेच गरिएको छ। कारोबारका क्रममा ५५ कम्पनीको शेयर मूल्यमा वृद्धि भए पनि १८० कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

आज दुई कम्पनीले सकारात्मक सर्किट प्राप्त गरे भने सप्तकोसी डेभलपमेन्ट बैंकको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। कारोबार समूहको प्रदर्शन हेर्दा होटल तथा पर्यटन समूहबाहेक सबै समूहमा गिरावट आएको छ। होटल तथा पर्यटन समूह ०.९९ प्रतिशतले बढेर ६,६९६.३५ विन्दुमा पुगेको छ। फाइनान्स समूह सबैभन्दा बढी २.९३ प्रतिशतले घटेको छ भने म्युचुअल फन्ड समूह सबैभन्दा कम ०.२१ प्रतिशतले घटेको छ।

प्रतिक्रिया