आइपीओ स्वीकृतिमा कमिसन मागिएको आरोप संसद्मा

काठमाडौं — जलविद्युत् कम्पनीहरुको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) स्वीकृतिको प्रक्रियामा बिचौलियामार्फत ५ देखि ७ प्रतिशतसम्म कमिसन माग गरिएको आरोप संसद्मा उठेको छ। प्रतिनिधि सभा बैठकमा नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले यस्तो कमिसन बार्गेनिङ गम्भीर विषय भएको बताउँदै त्यसबारे छानबिनको माग गरे। उनले सभामुख देवराज घिमिरेलाई सरकारलाई निर्देशन दिन आग्रहसमेत गरेका छन्।

सांसद सापकोटाले आइपीओ निष्कासन प्रक्रियामा खुलेआम कमिसन माग गरिनु जलविद्युत् परियोजनामा लगानी गर्नेहरुलाई निरुत्साहित गर्ने काम भएको बताएका छन्। यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले पनि धितोपत्र बोर्डका अध्यक्ष स्वयंले आइपीओ निष्कासनका लागि ५ देखि ७ प्रतिशत कमिसन मागेको भन्ने आरोपसहित ती विषयको अनुसन्धान र दोषीमाथि कारबाहीको माग गरिन्।

उनले भनिन्, ‘बजारमा धितोपत्र बोर्डका प्रमुखले आइपीओ निष्कासनका लागि कमिसन मागेको चर्चा खुलेर भइरहेको छ।’ सांसद कार्कीले यस्तो अनियमितताले जलविद्युत् क्षेत्रमा लगानीकर्ताको भरोसा कमजोर बनाउने चेतावनी दिइन्।

प्रतिक्रिया