काठमाडौं - एभरेष्ट बैंकले पुस २५ गतेदेखि २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २० लाख इकाई ऋणपत्र जारी गर्न लागेको हो । यसमध्ये १२ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । बाँकी ८ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ ।
बैंकले १० वर्ष अवधिको ‘एभरेष्ट बैंक लिमिटेड उर्जा ऋणपत्र २०८९’ जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यपिटलले गर्नेछ । यसमा वार्षिक ७.५% ब्याजदर दिने बैंकले जानकारी दिएको छ । यस ऋणपत्रमा पुस २८ गतेसम्म आवेदन दिन पाइनेछ ।
उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने माघ १० गतेसम्म खुला रहनेछ । न्यूनतम २५ इकाईदेखि सबै इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।