काठमाडौं– बैंक तथा वित्तीय संस्थामा तरलता अभाव देखिएको छ ।कोरोना संक्रमणदरमा कमी आएसंगै बढेको आर्थिक गतिविधिका कारण बैंकिङ प्रणालीबाट पैसा बाहिरिएपछि तरलता अभावको समस्या झनै जटील बन्दै गएको हो । राष्ट्र बैंकका अनुसार २० अर्बको रिपो जारी गरेपछि अहिले बैंकिङ प्रणालीमा करिब ४० अर्ब बराबरको तरलता रहेको छ ।
सरकारले बजेट खर्च गर्न नसक्दा नयाँ निक्षेप सिर्जना हुन नसकेपछि बैंकिङ क्षेत्रमा तरलता अभाव देखिएको छ । साथै चाडपर्व लक्षित व्यवसाय तथा कारोबार विस्तारका लागि बैंकहरुमा कर्जाको माग अत्याधिक रहेको छ भने निक्षेप समेत घट्न थालेको छ । जसले गर्दा तरलता अभावसँगै अन्तर बैंक कारोबारको ब्याजदरले सीमा पार गरेको छ ।
बैंकिङ क्षेत्रमा देखिएको तरलता अभाव र अन्तर बैंक ब्याजदरलाई नियन्त्रण गर्न राष्ट्र बैंकले बिहीबार मात्र २० अर्बको रिपो जारी गरेको छ । केन्द्रीय बैंकले २० अर्ब बराबरको रिपो जारी गर्दा बैंकहरुले भने ५३ अर्ब ७० करोड रुपैयाँ माग गरेका छन् । राष्ट्र बैंकले बिहीबार जारी गरेको रिपो असोज १४ गते परिपक्क हुनेछ । चालु आर्थिक वर्ष सुरु भएसंगै वित्तीय प्रणालीबाट निक्षेप बाहिरिने र कर्जा लगानी विस्तार हुने क्रम बढेको छ । त्यसैगरी सरकारले करको रुपमा उठाएको पैसा पनि खर्च नगरी ढुकुटीमा सञ्चित गरेर राखेको अवस्था छ । चालु आर्थिक वर्ष सुरु भएपछि मात्र करिब १०२ अर्ब रुपैयाँ सरकारी ढुकुटीमा जम्मा भएको छ ।
कोरोनाका कारण ठप्प भएको आर्थिक गतिविधि सुचारु भएसंगै बैंकमा निक्षेप नथपिने र बैंकमा भएको पैसा पनि बाहिरिने क्रमले तरलताको समस्या झनै जटील बन्दै गएको हो । त्यसका साथै चालु आर्थिक वर्ष सुरु भएसंगै रेमिट्यान्स आप्रवाहमा पनि कमी आएकाले बैंकहरुमा निक्षेप घटेको हो । बैंकहरुमा तरलताको अभाव चुलिदा रिपोको ब्याजदर समेत बढ्दै गएको छ । बिहीबार जारी भएको २० अर्बको रिपोका लागि १६ बैंकले १२६ आवेदन मार्फत ४.८० प्रतिशतदेखि ४.९० प्रतिशतसम्म ब्याजदर प्रस्ताव गरेका थिए । जसको औसत ब्याजदर ४.८७ प्रतिशत कायम भएको छ । जुन अघिल्लो पटको भन्दा धेरै हो । अघिल्लो असोज ७ गते बैंकहरुले ४.७९ प्रतिशत ब्याजदरमा रिपो कबोल गरेका थिए ।
केन्द्रीय बैंकले ब्याजदर करिडोर उपकरणमार्फत बजारमा तरलता व्यवस्थापन गरिरहेको छ । बैंकिङ प्रणालीमा लगानी योग्य रकमको अभाव राष्ट्र बैंकले विभिन्न उपकरणहरुको प्रयोग गरेर तरलता प्रवाह गर्ने र तरलता धेरै हुँदा प्रशोचन गर्ने गरेको छ ।