धादिङमा बस दुर्घटना, १७ को मृत्यु

काठमाडौं, । धादिङमा मध्यराति भएको बस दुर्घटनामा १७ जनाको ज्यान गएको छ भने २४ जना घाइते भएका छन्।

जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–५ भैंसिगौडास्थित पृथ्वी राजमार्ग खण्डमा पोखराबाट काठमाडौं आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुबाहक बस गएराति करिब साढे १ बजे त्रिशूली नदी किनारमा खसेको थियो। दुर्घटनापछि तत्काल उद्धार कार्य सुरु गरिएको थियो।

सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन बेस आदमघाटबाट डीएसपी सुनिल गिरिको नेतृत्वमा तथा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोली खटिएको थियो। टोलीले घटनास्थलमै उद्धार तथा खोजी कार्य गरेको हो।

प्रहरीका अनुसार मृत्यु भएका १७ जनाको शव घटनास्थलमै फेला परेको छ। घाइते २४ जनालाई उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

मृतक र घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको छ भने दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया