एक वर्षमा ३ खर्ब ३७ अर्बको पेट्रोलियम आयात, सरकारलाई १ खर्ब १३ अर्ब राजस्व

काठमाडौं । नेपालले आर्थिक वर्ष २०८२/८३ मा तीन खर्ब ३७ अर्ब २९ करोड ६८ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ। भन्सार विभागको वार्षिक तथ्यांकअनुसार डिजेल, पेट्रोल, एलपी ग्यास, हवाई इन्धन र मट्टितेल आयातबाट सरकारले एक खर्ब १३ अर्ब ५८ करोड ६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।

गत आवमा आयात परिमाण र मूल्य दुवैका हिसाबले डिजेल पहिलो स्थानमा रहेको छ। एक वर्षमा एक खर्ब ७२ अर्ब ४२ करोड ८७ लाख रुपैयाँ बराबरको १३ लाख ९३ हजार ३३४ किलोलिटर डिजेल आयात गरिएको छ। डिजेल आयातबाट मात्रै सरकारले ५७ अर्ब ७० करोड ३९ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको विभागको तथ्यांकले देखाएको छ।

दोस्रो स्थानमा रहेको पेट्रोलतर्फ ७७ अर्ब २६ करोड ५० लाख रुपैयाँ बराबरको सात लाख ५१ हजार ६४२ किलोलिटर आयात भएको छ। यसबाट सरकारलाई ४० अर्ब ४८ करोड ४१ लाख रुपैयाँ राजस्व प्राप्त भएको छ।

खाना पकाउन प्रयोग हुने एलपी ग्यासको आयात पनि उल्लेख्य रहेको छ। गत आर्थिक वर्षमा ५२ करोड ५ लाख २५ हजार १९२ केजी एलपी ग्यास ६० अर्ब २८ करोड ६ लाख रुपैयाँमा आयात गरिएको छ। एलपी ग्यासबाट सरकारले ११ अर्ब २४ करोड २६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।

त्यसैगरी, २६ अर्ब ६४ करोड ५० लाख रुपैयाँ बराबरको दुई लाख १३ हजार ६४३ किलोलिटर हवाई इन्धन (एटीएफ) आयात भएको छ। हवाई इन्धनबाट तीन अर्ब ९७ करोड ९ लाख रुपैयाँ राजस्व प्राप्त भएको छ।

मट्टितेलतर्फ ६७ करोड ७४ लाख रुपैयाँ बराबरको छ हजार ९२८ किलोलिटर आयात भएको छ। यसबाट १७ करोड ९० लाख रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ।

नेपालमा खपत हुने अधिकांश पेट्रोलियम पदार्थ भारतबाट आयात हुने गरेको छ। यद्यपि, विशेष प्रकारका इन्धन, लुब्रिकेन्ट तथा बेस आयल भने अस्ट्रेलिया, चीन, बहराइन, कतार, सिंगापुर र इटालीलगायत मुलुकबाट पनि आयात हुने गरेको तथ्यांकले देखाएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय