सात महिनामा ४० अर्ब वैदेशिक लगानी, कृषि क्षेत्र पहिलो रोजाइ

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनामा नेपालमा ४० अर्ब २८ करोड ३३ लाख ८० हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार साउनदेखि माघ मसान्तसम्म अटोमेटिक रुट र परम्परागत स्वीकृति प्रक्रियामार्फत ५२४ वटा आयोजना दर्ता भएका छन्। ती आयोजनाबाट २० हजार ८९६ जनालाई रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ।

क्षेत्रगत रूपमा हेर्दा कृषि तथा वन पैदावारमा आधारित उद्योगमा सबैभन्दा बढी लगानी आएको छ। कुल प्रतिबद्धताको ५५ प्रतिशत अर्थात् २१ अर्ब ९० करोड ८० लाख रुपैयाँ यही क्षेत्रमा केन्द्रित छ। संख्यात्मक रूपमा आयोजना कम भए पनि लगानीको आकार ठूलो भएकाले कृषि पहिलो स्थानमा देखिएको हो।

पर्यटन क्षेत्र दोस्रो ठूलो गन्तव्य बनेको छ। १५० वटा पर्यटनसम्बन्धी आयोजनामार्फत १० अर्ब ८६ करोड २० लाख रुपैयाँ अर्थात् २७ प्रतिशत लगानी प्रतिबद्धता प्राप्त भएको छ।

त्यस्तै सेवा क्षेत्रमा ३ अर्ब ५४ करोड ८० लाख (९ प्रतिशत), उत्पादनमूलक क्षेत्रमा २ अर्ब ४० करोड ६६ लाख (६ प्रतिशत) र सूचना प्रविधि क्षेत्रमा १ अर्ब २५ करोड ९४ लाख (३ प्रतिशत) लगानी प्रस्ताव गरिएको छ। ऊर्जा क्षेत्रमा भने १८ करोड ४२ लाख रुपैयाँ बराबरको न्यून प्रतिबद्धता देखिएको छ।

दर्ता भएका ५२४ आयोजनामध्ये ५०७ साना, ८ मझौला र ८ ठूला उद्योग रहेका छन्। संख्या अनुसार सूचना प्रविधि क्षेत्रमा २८८ आयोजना प्रस्ताव भए पनि ती साना प्रकृतिका रहेका छन्।

माघ महिनामा मात्र १ अर्ब ४ करोड ७२ लाख रुपैयाँ बराबरको थप लगानी प्रतिबद्धता आएको छ। सो अवधिमा ४९ नयाँ आयोजना दर्ता भएका छन् भने प्रविधि हस्तान्तरणसम्बन्धी दुई सम्झौता स्वीकृत भएका छन्।

सरकारले वैदेशिक लगानी सहजीकरणका लागि प्रक्रिया सरल बनाउँदै आएको छ। माघ महिनामा १५४ विदेशी लगानीकर्ता, २३ प्रतिनिधि र ६२ आश्रितका लागि व्यावसायिक भिसा सिफारिस गरिएको छ। यसै अवधिमा ५ अर्ब ९३ करोड रुपैयाँ लाभांश र २८ करोड ८८ लाख रुपैयाँ रोयल्टी फिर्ता लैजान अनुमति दिइएको छ।

सात महिनाको तथ्यांकले कृषि र पर्यटन क्षेत्रमा विदेशी लगानीकर्ताको आकर्षण बलियो देखिएको संकेत गर्छ। अटोमेटिक रुट प्रभावकारी बन्दै जाँदा साना तथा मझौला आयोजनाको संख्या बढेको प्रतिवेदनले देखाएको छ।

प्रतिक्रिया