काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरीमा विकसित पछिल्लो घटनाक्रम र त्यसले सिर्जना गरेको सामाजिक तनावबारे छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन्।
बुधबार बिहान ८ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको बैठक कक्षमा बैठक बस्ने तय भएको रास्वपाले जनाएको छ।
सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको झडप, त्यसपछिको तनावपूर्ण अवस्था तथा स्थानीय प्रशासनले जारी गरेको कर्फ्युका कारण जनजीवन प्रभावित बनेपछि राजनीतिक तहबाट साझा धारणा बनाउन बैठक बोलाइएको जनाइएको छ।
बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरिएको छ। साथै, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर तथा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई पनि विशेष रूपमा निमन्त्रणा गरिएको छ।
सभापति लामिछानेको सचिवालयका अनुसार सबै राजनीतिक दललाई औपचारिक पत्राचार गर्नुका साथै लामिछानेले स्वयं शीर्ष नेताहरूसँग टेलिफोनमार्फत सम्पर्क गरी बैठकमा सहभागी हुन आग्रह गरेका छन्।
रास्वपाले प्रशासनिक तहबाट शान्ति–सुरक्षा कायम गर्ने प्रयास जारी रहे पनि राजनीतिक दलहरूबाट एउटै स्वरमा सामाजिक सद्भाव र शान्तिको सन्देश प्रवाह गर्न आवश्यक देखिएकाले सर्वदलीय बैठकको पहल गरिएको जनाएको छ।