काठमाडौं – ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले आज (फागुन २७) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरी बाँडफाँट गरिसकेको थियो।
कम्पनीले कुल ६० करोड रुपैयाँको जारी पूँजीमध्ये ३० प्रतिशतबराबर १८ लाख कित्ता शेयर निष्कासन गर्ने स्वीकृति पाएको थियो। सोहीमध्ये १० प्रतिशत अर्थात् १ लाख ८० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याई बाँडफाँट गरिसकिएको छ। त्यस्तै, कम्पनीका कर्मचारीहरूलाई ५४ हजार कित्ता र सामूहिक लगानी कोषलाई ९० हजार कित्ता शेयर बाँडफाँट गरिएको छ। अब दोस्रो चरणमा सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता साधारण शेयर बिक्री खुला गरिएको हो।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन दिने प्रक्रिया छिटोमा चैत ३ गते र ढिलोमा चैत १२ गतेसम्म खुला रहनेछ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत बैंक तथा वित्तीय संस्थाहरूको आस्बा सेवा प्रयोग गरी वा ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
कम्पनीको वित्तीय विश्वसनीयता मापन गर्ने क्रममा केयर रेटिङ नेपालले CARE-NP BB- रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको देखाउँछ।
ओम मेगाश्री फर्मास्यूटिकल्सको कुल आयोजना लागत १ अर्ब २६ करोड ६३ लाख ९९ हजार रुपैयाँ रहेको छ। हालसम्म ९७ करोड ५४ लाख ३६ हजार रुपैयाँ खर्च भइसकेको छ भने बाँकी २९ करोड ९ लाख ६३ हजार रुपैयाँ खर्च गर्न बाँकी छ। कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ७.१५ वर्ष र डिस्काउन्ट गरिएको लगानी फिर्ता अवधि ९.७५ वर्ष रहेको छ।