काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज पनि घटेको छ। साताभर ओरालो लागेको बजार आज १२.३८ अंकले घटेर २६६९.७६ अंकमा पुगेको हो। नेप्सेका अनुसार आजको कारोबार रकम ४ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ।
बजारमा आज १७५ कम्पनीको सेयर मूल्य घट्दा ६२ कम्पनीको मूल्य बढेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ। जीवन बीमा समूहमा सामान्य वृद्धि भए पनि अन्य सबै समूहको परिसूचक घटेको छ। फाइनान्स समूह सबैभन्दा धेरै १.३५ प्रतिशतले घटेको छ।
आज मिथिला लघुवित्त र भूगोल इनर्जीको सेयर सर्किट लेभलमा झरेको छ भने डोल्टी पावर कम्पनीको सेयर ७.४५ प्रतिशतले बढेको छ। नेपाल पुनर्बीमा कम्पनीको २८ करोड रुपैयाँ र हिमालयन पुनर्बीमा कम्पनीको २२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
सबैभन्दा धेरै कारोबार घलेम्दी हाइड्रोको सेयर भएको छ भने सबैभन्दा धेरै पटक कारोबार हुने कम्पनी गार्डियन लाइफ बनेको छ।