खल्तीको ‘इन्फ्लुएन्सर अवार्ड’ घोषणा

काठमाडौं — आइएमई खल्ती लिमिटेडले नेपालका डिजिटल कन्टेन्ट क्रिएटरहरूलाई लक्षित गर्दै “आईएमई प्रेजेन्ट्स खल्ती इन्फ्लुएन्सर अवार्ड” को घोषणा गरेको छ। यो अवार्डलाई देशकै पहिलो राष्ट्रिय स्तरको सम्मान मञ्चका रूपमा प्रस्तुत गरिएको छ, जसको भव्य समापन साउन १६, २०८३ मा हुनेछ।

खल्तीका अनुसार यो पहलले नेपालमा बढ्दो ‘क्रिएटर इकोनोमी’ लाई संस्थागत बनाउन सहयोग गर्नेछ। अवार्डमार्फत दुई सयभन्दा बढी प्रभावशाली क्रिएटरहरूलाई राष्ट्रिय पहिचान, ब्रान्ड साझेदारीका अवसर तथा नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।

यस अवार्डले सृजनशीलता, मौलिकता र डिजिटल उत्कृष्टतालाई राष्ट्रिय स्तरमा मान्यता दिने प्रयास गरेको छ। कार्यक्रमका मुख्य विशेषतामा स्थापित क्रिएटरहरूको सम्मान, नयाँ प्रतिभालाई समान अवसर र सामाजिक सन्देश प्रवाह गर्ने लक्ष्य समावेश छन्।

अवार्ड प्रक्रिया चार चरणमा सञ्चालन हुनेछ। वैशाख १ देखि असार १ सम्म आवेदन खुला रहनेछ भने त्यसपछि छनोट, मूल्याङ्कन र सार्वजनिक भोटिङ चरण पूरा गरी साउन १६ मा विजेताको घोषणा गरिनेछ।

विजेताहरूले राष्ट्रिय पहिचान, मेन्टरशिप, ब्रान्ड सहकार्य तथा दीर्घकालीन विकासका अवसर प्राप्त गर्नेछन्। खल्तीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले यस कार्यक्रमले केवल प्रतिस्पर्धा नभई जिम्मेवार डिजिटल आवाजलाई सम्मान गर्ने मञ्च निर्माण गर्ने बताएका छन्।

इच्छुक क्रिएटरहरूले खल्ती एपमार्फत निःशुल्क आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया