युवा स्वरोजगार कोषद्वारा असल व्यवसायीलाई व्याज अनुदान वितरण


काठमाडौं–युवा तथा साना व्यवसायी स्वरोजगार कोषले तोकिएको समयमा कर्जा तिर्ने व्यवसायीलाई व्याज अनुदान वितरण गरेको छ । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर २मा रहेका काभ्रेस्थली कृषि सहकारी संस्था लिमिटेड र युवक कृषि सहकारीका सदस्यलाई कोषले ५ लाख ३ हजार रुपैयाँ व्याज अनुदान फिर्ता गरेको हो । ती दुई सहकारीले स्वरोजगार कोषबाट कर्जा लगेर आफ्ना सदस्यलाई लगानी गरेका थिए । 


एक कार्यक्रमकाबीच युवा तथा साना व्यवसायी स्वरोजगार कोषका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले समयमा कर्जा तिर्ने असल व्यवसायीलाई ६० प्रतिशत व्याज अनुदान वितरण गरेका हुन् । अधिकारीले समयमा कर्जा तिर्ने व्यवसायीलाई थप लगानी गरेर उद्यमशील बनाउने बताए । कोषले सहकारीलाई कर्जा दिए पछि सहकारीले आफ्ना सदस्यलाई लगानी गरेका छन् । कोषले कर्जासहित आवश्यक सीप पनि सिकाउँदै आएको छ ।


कोषले काभ्रेस्थली कृषि सहकारीलाई ५० लाख रुपैयाँ लगानी गरेको थियो । कोष सहकारीमार्फत लगानी गर्न थप ८० लाख स्वीकृत गरेको जनाएको छ । काभ्रेस्थली कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष रामसुधन भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तारकेश्वर नगरपालिका वडा नम्बर २का वडा सदस्य किशोर भण्डारीले मन्तव्य राखेका थिए । व्यवस्थापक सर्मिला घिमिरेले स्वागत गरेको कार्यक्रमको सञ्चालन स्वरोजगार कोषका सहजकर्ता प्रकाश फुयाँलले गरेका थिए ।
 
 

प्रतिक्रिया