गौरमा सामुदायिक झडप, प्रशासनद्वारा कर्फ्यु जारी

रौतहटको गौर नगरपालिका–६ सपगडा टोलमा विवाहको बाजा बजाउने विषयलाई लिएर दुई समुदायबीच तनाव उत्पन्न भएपछि स्थानीय प्रशासनले कर्फ्यु जारी गरेको छ। शुक्रबार बिहान विवाहका जन्ती बाजागाजासहित जाँदै गर्दा अर्को समुदायका व्यक्तिहरूले अवरोध गरेपछि विवाद चर्किएको थियो। सामान्य भनाभनबाट सुरु भएको घटना केही समयमै झडपमा परिणत भएको थियो।

स्थिति नियन्त्रणबाहिर जाने संकेत देखिएपछि जिल्ला प्रशासन कार्यालयले सुरक्षाका दृष्टिले कर्फ्यु आदेश जारी गरेको हो। बेलुका दुवै पक्षका अगुवाहरूलाई बोलाएर छलफल गराइएको थियो र ६ बुँदे सहमति भएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिएका छन्। तर सहमतिपछि पनि शनिबार बिहान पुनः तनाव बढ्दा झडप भएको बताइएको छ।

झडपमा दुवै समुदायका गरी ६ जना घाइते भएका छन् भने दुई प्रहरीसमेत घाइते भएका छन्। प्रदर्शनकारीहरूले भारतीय नम्बर प्लेटको एक सवारी साधन र १२ वटा मोटरसाइकल तोडफोड गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी विष्णुप्रदीप बस्यालले जानकारी दिएका छन्। हाल क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरी अवस्था नियन्त्रणमा लिने प्रयास भइरहेको छ।

प्रतिक्रिया