काठमाडौं। यो हप्ता शेयर लगानीकर्ताका लागि सुखद रह्यो। कारोबार भएका अधिकांश दिनमा नेप्से ठूला अंकले बढेर लगानीकर्ताको सम्पत्तिमा वृद्धि भएको छ। नयाँ सरकार बनेसँगै उत्साहित बनेका लगानीकर्ताको लय अझै कायम छ।
साताको अन्तिम दिन परिसूचक ५ अंकले मात्र घटेको छ। दिनभरि तीव्र उतारचढावका बीच बन्द हुने बेलामा परिसूचक सामान्य घटेको हो। परिसूचकसँगै कारोबार रकम पनि बुधबारको तुलनामा सामान्य घटेको छ। आज ३३२ कम्पनीको २१ अर्ब ७१ करोडको कारोबार भएको छ। यो उच्च कारोबारमध्ये दोस्रो हो। हिजो मात्र नेप्सेको इतिहासमै सबैभन्दा धेरै कारोबार २१ अर्ब ९१ करोडको शेयर किनबेच भएको थियो।
आज विमा समूहले बजारलाई धानेको देखिन्छ भने उपसूचकहरूमा बैंक र विकास बैंक घटेका छन्। त्यस्तै उत्पादन र व्यापार समूह पनि आज घटेका छन्। ९ कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ भने हिमालयन रि इन्स्योरेन्स कम्पनीको शेयर सबैभन्दा धेरै किनबेच भएको छ। त्यस्तै, शिवम सिमेन्ट दोस्रो स्थानमा धेरै कारोबार हुने कम्पनीमा परेको छ।
लगानीकर्ताको उत्साह र आत्मविश्वास कायमै रहेको छ।