कैलालीको अत्तरियामा मोटरसाइकल दुर्घटना, तीनको मृत्यु

सांकेतिक तस्बिर

सुदूरपश्चिमको कैलालीस्थित अत्तरियामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। धनगढी–डडेल्धुरा (भीमदत्त) राजमार्गअन्तर्गत वनदेवी सडकखण्डमा शुक्रबार साँझ भएको दुर्घटनामा घाइते भएका तीन जनालाई उपचारका लागि धनगढी लैजाँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार सुप प्र०१–०१०३१८७ नम्बरको मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–२ का २२ वर्षीय हरिश ओलीको मृत्यु भएको हो। सोही मोटरसाइकलमा पछाडि सवार गोदावरी नगरपालिका–६ लालपुरका २३ वर्षीय जीवन पाठक गम्भीर घाइते भएका छन् र उनको उपचार भइरहेको छ।

त्यस्तै, सुप प्र०१–००९प७७८१ नम्बरको मोटरसाइकल चालक गोदावरी नगरपालिका–१ का करिब २६ वर्षीय योगेन्द्र शाह र पछाडि सवार करिब २३ वर्षीय हरिश पार्कीको पनि मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार मोटरसाइकल तीव्र गतिमा कुदाइएका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान छ। घटनास्थलमा मोटरसाइकलका पाङ्ग्रा तथा अन्य पाटपुर्जा टाढासम्म छरिएको अवस्थामा भेटिएको बताइएको छ। मृतक हरिश ओली गोदावरीमा आयोजित विवाह समारोहमा सहभागी भएर धनगढीतर्फ फर्कने क्रममा दुर्घटनामा परेका थिए।

प्रतिक्रिया