चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो छ महिनामा वाणिज्य बैंकहरूले २१ अर्ब रुपैयाँभन्दा बढी शेयर धितो कर्जा प्रवाह गरेका छन्। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २०८१ पुससम्म वाणिज्य बैंकहरूबाट कुल ९१ अर्ब ५४ करोड रुपैयाँ बराबरको शेयर धितो कर्जा प्रवाह भएको छ। यो अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्मको तुलनामा ४२.५९ प्रतिशतको वृद्धि हो।
२०८१ असार मसान्तमा वाणिज्य बैंकहरूले प्रवाह गरेको शेयर धितो कर्जा ७० अर्ब ३४ करोड रुपैयाँ थियो, जुन पुससम्म आइपुग्दा ९१ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा बैंकहरूले शेयर धितो कर्जा १६४.५७ प्रतिशतसम्म वृद्धि गरेका छन्। सबैभन्दा बढी वृद्धि माछापुच्छ्रे बैंकले गरेको देखिएको छ। असार मसान्तमा ४६ करोड ७० लाख रुपैयाँ रहेको माछापुच्छ्रे बैंकको शेयर धितो कर्जा पुससम्म १ अर्ब २३ करोड रुपैयाँ पुगेको छ।
त्यस्तै, नेपाल एसबिआइ बैंकको शेयर धितो कर्जा १३६.८१ प्रतिशतले बढेको छ। तर, हिमालयन बैंक र एनआईसी एशिया बैंकको शेयर धितो कर्जा भने क्रमशः ५.४१ प्रतिशत र ३४.६५ प्रतिशतले घटेको छ। वाणिज्य बैंकहरूद्वारा प्रवाह गरिएको शेयर धितो कर्जाको यो वृद्धिले सेयर बजारमा लगानीकर्ताहरूको चासो बढेको संकेत गर्छ।