काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोही प्रभावका कारण देशका विभिन्न स्थानमा आंशिक बदली देखिएको छ भने केही प्रदेशमा वर्षा र हिमपातको सम्भावना रहेको छ।
महाशाखाका अनुसार दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुन सक्ने सम्भावना छ। त्यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही पहाडी तथा हिमाली क्षेत्रमा राति पनि वर्षा र हिमपात हुने अनुमान गरिएको छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा समेत हल्का वर्षा पर्न सक्ने पूर्वानुमान गरिएको छ। जबकि कोशी प्रदेश लगायतका अन्य भूभागमा मौसम सामान्यतया सफा रहने बताइएको छ।
मौसमविद्हरूले पश्चिमी वायुको प्रभाव अझ केही दिन रहन सक्ने भन्दै हिमाली र उच्च पहाडी क्षेत्रमा यात्राका क्रममा सावधानी अपनाउन आग्रह गरेका छन्।