नेपालको वैदेशिक व्यापार घाटा ५ खर्ब ८७ अर्ब, निर्यातमा १६.५ प्रतिशत वृद्धि

काठमाडौँ – चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालले ७ खर्ब ३५ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार गर्दा झण्डै ६ खर्ब रुपैयाँ घाटा व्यहोरेको छ। निर्यातभन्दा आयात धेरै भएकाले मंसिरसम्मको अवधिमा ५ खर्ब ८७ अर्ब रुपैयाँको व्यापार घाटा भएको नेपाल सरकारको तथ्यांकले देखाएको छ।

यो अवधिमा नेपालले कुल ६ खर्ब ६१ अर्ब रुपैयाँको वस्तु आयात गरेको छ भने ७३ अर्ब ६५ करोड रुपैयाँको मात्रै वस्तु निर्यात गरेको छ। आयात र निर्यातबीचको ठूलो अन्तरले व्यापार घाटा झनै चुलिएको हो।

यद्यपि, मंसिरसम्मको तथ्यांकले निर्यातमा सुधार देखाएको छ। गत वर्षको तुलनामा यस वर्ष निर्यात १६.५४ प्रतिशतले वृद्धि भएको छ, जबकि आयातमा ३ प्रतिशतको मात्र वृद्धि भएको छ।

नेपालको कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८९.९८ प्रतिशत रहेको छ भने निर्यातको हिस्सा १०.०२ प्रतिशतमा पुगेको छ। अघिल्लो वर्ष यो हिस्सा ८.९६ प्रतिशत मात्र थियो, जसले निर्यातमा क्रमिक सुधार देखाएको संकेत गर्दछ।

प्रतिक्रिया